कृषि

साना किसानलाई सिधै अनुदान उपलब्ध गराइनेछ: मन्त्री थारु

बर्दिया । पशुपक्षी विकासमन्त्री सन्तकुमार थारुले साना किसानलाई सिधै अनुदान उपलब्ध गराउन प्राथमिकताका साथ काम अघि बढाएको बताएका छन् ।  बारबर्दिया नगरपालिकाको पहिलो नगरसभाको बजेट अधिवेशनलाई बुधबार सम्बोधन गर्दै उनले पहुँचवाला सहकारी या किसानलाई मात्र अनुदान दिने कार्यलाई निरुत्साहित गरी साना किसानलाई प्राथमिकतामा राखी अनुदानका कार्यक्रम ल्याउन लागिएको बताए ।

साना किसानलाई अधिकार सम्पन्न बनाउन परिचयपत्रको व्यवस्था गर्न लागिएको उनको भनाइ थियो ।  किसानलाई निर्वाहमुखी मात्र नभई व्यवसायमुखी बनाएर लैजानुपर्नेमा जोड दिँदै उनले साना किसान कार्यक्रममा अनुदान बढाएर एक वर्षभित्र अण्डा, दुई वर्षभित्र मासु र तीन वर्षभित्रमा दूधमा आत्मनिर्भर हुने गरी कार्यक्रम ल्याइने जानकारी दिए ।