राजनीति

गृहमन्त्रीले भने, ‘छिटो भन्दा छिटो बाढीपीडितका समस्या हल गर्नुहोस’

काठमाडौँ। गृहमन्त्री जनार्दन शर्माले छ महिनाभित्र बाढी प्रभावित क्षेत्रमा घर बनाउने गरी योजना निर्माण गर्न मातहतका निकायहरुलाई निर्देशन दिएका छन् ।

बुधबार गृह मन्त्रालयमा आयोजित केन्द्रीय दैवीप्रकोप उद्धार समितिको बैठकमा बोल्दै मन्त्री शर्माले उक्त निर्देशन दिएको हो । “तथ्यांक संकलन गरेर एकमुष्ट रकम निकासा गर्ने व्यवस्था मिलाएर कम्तीमा छ महिनामा बाढी प्रभावितलाई पुनःस्थापना गर्ने गरी योजना बनाउनुहोस्,”–मन्त्री शर्माले भने ।

उनले बाढीका कारण विस्थापितहरुको तथ्यांक तयार गर्न निर्देशन दिँदै अर्को वर्षामा बाढी आउँदा आवश्यक उद्धार सामग्री अहिले नै किन्नुपर्ने बताए ।

मन्त्री शर्माको निर्देशनपछि केन्द्रीय दैवीप्रकोप उद्धार समितिले स्याउला, खरलगायतका सामग्रीले छाएको घरको छानोलाई जस्ताले छाउनका लागि दुई बण्डल जस्तापाता वितरण गर्ने निर्णयसमेत गरेको छ । यस्तै बाढी आएको बेला राहत र उद्धारमा विशेष भूमिका खेल्ने संघ संस्थालाई पुरस्कृत गर्ने निर्णय समेत गरेको छ ।

बैठकमा बोल्दै गृहराज्यमन्त्री श्यामकुमार श्रेष्ठले नीतिगत कमजोरीका कारण विपद्सम्बन्धी कार्य युद्धस्तरमा हुन नसकेको बताए ।

बैठकमा सरोकारवाला मन्त्रालयका सचिवहरुले आ–आफ्नो मन्त्रालय मातहतको क्षेत्रमा भएको क्षतिको विवरण प्रस्तुत गरेका थिए।