राजनीति

कांग्रेस नेता विमलेन्द्र निधि एमालेप्रति किन बढी आक्रामक देखिदैछन् ? यस्तो छ भित्री कारण !

काठमाण्डौ । नेपाली कांग्रेसका प्रभावशाली नेता विमलेन्द्र निधि यसबेला अन्य कांग्रेस नेताहरुभन्दा बढी नै एमालेप्रति आक्रमक देखिन्छन् । चाहे त्यो एमालेका बरिष्ठ नेता माधव नेपाल उत्तरकोरिया भ्रमणमा जाँदा गरेको चर्को विरोध होस् वा दुई नम्बर प्रदेशमा एमालेलाई बढारेरै छाडिदिने उद्घोष ।

यी सबै घटनाक्रमलाई हेर्दा कांग्रेस नेता निधि एमालेप्रति निकै आक्रमक देखिदैछन् । उनले एमाले नेता माधव नेपाल उत्तरकोरियाको गएको विषयलाई लिएर गरेको टिप्पणीले नेपाली राजनीतिक रंगमञ्चमा तरंगनै ल्याइदियो ।

त्यो विषयमा स्वयं माधव नेपालले जवाफ दिनुपरिरहेको अवस्था छ । माधव नेपालले केही कार्यक्रमहरुमा पनि भनिसकेका छन् कि कांग्रेस नेता निधिले उठाएको कुरा साँचो होइन,आफु परराष्ट्र मन्त्रालयलाई नै सुचना दिएर भ्रमणमा गएको उनले स्पष्टीकरण दिन बाध्य भए ।

त्यस्तै, अन्य विषयमा पनि नेता निधि एमालेप्रति निकै आक्रमक भैरहेका छन् । विशेषगरी दुई नम्बर प्रदेशको चुनावी लहर सुरु हुँदादेखि नै निधि एमालेप्रति अनुदारजस्तै भएर आक्रमण गरिरहेका छन् । उनले मधेसी जनतालाई एमालेले ढाँटेर मत मागिरहेको भन्दै दुई नम्बर प्रदेशमा नेपाली कांग्रेसनै पहिलो पार्टी बन्ने दाबी गरिरहेका छन् ।

वास्तवमा नेता निधि अरु कांग्रेस नेताहरुभन्दा बढी किन एमालेप्रति यति धेरै आक्रमक भैरहेका छन ? यो विषयमा केही सम्भावित प्रसंगहरु यहाँ जोड्नु सान्दर्भिक हुने देखिन्छ ।

यसकारण एमालेप्रति बढी आक्रमक देखिए निधि !
वास्तवमा नेकपा एमालेनै त्यस्तो पार्टी देखियो, जुन पार्टी मधेसवादी दलहरुले अघि सारेको संविधान संशोधन प्रस्तावमा निकै अनुदार देखिन पुग्यो । उसको अडानले राजपाले उठाउँदै आएको सो मुद्धा संसदमै असफल हुनु पुग्यो । नेपाली कांग्रेसभित्र निधि यस्ता नेता हुन्, जो मधेसी जनताको अधिकारका सवालमा संविधान संशोधनलाई काँटछाँट गरेर भएपनि पास गर्नुपर्छ भन्ने पक्षमा थिए । जब एमालेले कडा अडान लियो र संशोधन प्रस्थाव फेल भयो तब उनले पनि सो पार्टीविरुद्ध आक्रामक बन्ने नीति लिए ।

त्यस्तै नेता निधिले एमालेले तराई–मधेसको विकासका एजेण्डामा एमालेले पहल लिएको भन्ने कुराको ठाडै विरोध गर्दै आइरहेका छन् । हुलाकी राजमार्ग लगायतका महत्वपूर्ण विकास योजनाहरुमा एमालेले आफ्नो जस लिँदै मत मागिरहेको छ ।

हुलाकी राजमार्गको सवालमा समेत नेता निधिले एमालेको दाबीलाई प्रतिजवाफ दिइरहेका छन् । उनले हुलाकी राजमार्ग तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाको पालामा आफु यातायात मन्त्री हुँदा पास गरेको भन्दै एमालेको दाबीलाई फिक्का बनाउँदै आएका छन् । त्यतिमात्रै होइन, भर्खरै एमाले बरिष्ठ नेता नेपालले आफु पनि मधेसकै धर्तीपुत्र भएको र एमालेले सँधै मधेको हित हुने काम गर्ने दाबी गरिरहँदा उनले अर्को प्रतिजवाफ दिएका छन् ।

एमाले नेता माधव नेपाल मधेसबाटै चुनाव जितेर राष्ट्रिय राजनीतिमा पुगेका नेता हुन् तर उनले मधेसका लागि केही काम गरेका छैनन् । यसरी नेता निधिले एमालेका मधेससम्बन्धी प्रत्येक जवाफको प्रतिजवाफ फर्काउनुले पनि उनी एमालेप्रति निकै आक्रामक ढंगले लागिपरेको देखिन्छ ।

नेता निधि किन एमालेप्रति आक्रमक भए त ? भन्ने विषयमा एउटा मात्रै कारण हो उनी यो पटक सो पार्टीलाई मधेसमा हराएर आफु राष्ट्रिय राजनीतिमा थप प्रभावशाली नेताका रुपमा उदाउँदैछन् । दुई नम्बर प्रदेश उनको चुनावी क्षेत्र पनि हो र उनी मधेसका रैथाने जातिबाट उठेर राष्ट्रिय राजनीतिमा उदाएका नेता पनि हुन् ।

नेपाली कांग्रेसभित्र भोलिको कुशल राजनीतिक नेतृत्वको प्लेटफर्म बनाइरहेका नेता निधिले यसबेला मुलुकै प्रभावशाली पार्टीको रुपमा उदाउँदै गरेको एमालेलाई साइजमा ल्याउन सके आफु थप प्रभावशाली नेता हुन सक्ने आंकलन गरिरहेका छन् । जुन आंकलनलाई दुई नम्बर प्रदेशमा नेपाली कांग्रेसको सफलता अनुमोदन गरिदिन सक्छ ।