राजनीति

यी हुन् पुष्पकमल दाहालको पार्टी सक्ने खलनायकहरु, जसका कारण माओवादी देशभरबाट बढारिदैछ !

काठमाण्डौ । नेकपा माओवादी केन्द्रको राजनीतिक इतिहास हेर्दा अन्य ठूला रानीतिक पार्टीहरुको दाँजोमा केही छोटो देखिन्छ । विशेषगरी उक्त पार्टी राजनीतिक शक्तिको रुपमा दश वर्षको शसस्त्र द्वन्द्वबाट स्थापित भएर नेपाली राजनीतिक रंगमञ्चमा देखापरेको हो ।

सो पार्टीको नेतृत्वमा भएको शसस्त्र द्वन्द्वको क्रममा मुलुकमा निकै ठूलो भौतिक क्षतिमात्र भएन, त्यसको जगबाट विभिन्न किसिमका विकृति र विसंगतिहरु समेत जन्मिए । माओवादी आन्दोलनका नाममा सो पार्टीमा लागेका थुप्रै नेता–कार्यकर्ताहरुले लुटेका बैंक, प्रहरीचौकी, सैनिक ब्यारेक, अन्य सरकारी र गैरसरकारी कार्यालयको भौतिक सम्पति कब्जा गरेर भागेका उदाहरण बग्रेल्ती भेटिन्छन् ।

थुप्रै कार्यकर्ताहरु सम्पतिको लोभमा उक्त द्वन्द्वको माहोलमा सहभागी हुँदा सम्पति र केटी टिपेर भागेका थुप्रै उदाहरणहरु पाइन्छन् । माओवादी द्वन्द्वको क्रममा ती कार्यकर्ताहरुले गरेको ज्यादती त एकातिर छँदैथ्यो,अर्कोतिर सम्पति कमाउने लोभमा घुसेका नेता–कायकर्ताहरुको रबैयाले गर्दा जनताबाट सो पार्टी विस्तारै कट्दै गयो र आज समाप्त हुने चररणमा पुगेको छ ।

यिनै खालका थुप्रै विकृति र विसंगतिहरुका कारण शान्ति प्रक्रियामा प्रवेश गरेलगत्तै माओवादीभित्र ठूलै भुुइँचालो गयो र नेतृत्वनै सकियो । बाबुराम भट्टाई,मोहन वैद्य, नेत्रविक्रम चन्द लगायतका नेताहरुले प्रचण्डको साथ छाडिदिए । प्रचण्डले आफ्नै ढंगको पार्टी सञ्चालन गर्न थाले ।

उनीमाथि पनि अवैध रुपमा सम्पति लुकाएको आरोप लाग्ने गरेको छ । विवादास्पद व्यापारीहरुसँग उठबस गरेको आरोपसँगै प्रचण्डलाई सम्पतिको मोहमा फसेको आरोप लगाउँदै मोहन वैद्य र विप्लवले उनको साथ छोडिदिए । अन्तत उनीहरुले सुरु गरेको माओवादी आन्दोलननै समाप्त हुने संघारमा पुगेको देखिन्छ ।

सुन र रक्तचन्दनमा माओवादीको संलग्नता !
भर्खरै सिन्धुपाल्चोकका एक माओवादी कार्यकर्ता सुन तस्करका नाइके रहेको कुरा बाहिर आइरहेको छ । उनी केही महिनाअघि सम्पन्न स्थानीय चुनावमा गाउँपालिका अध्यक्ष समेत रहेका नेता हुन् । भोटेकोशी गाउँपालिकाका अध्यक्ष सेमत रहेका राजकुमार पौडेलमाथि भदौ १५ गते काठमाण्डौ र धनुषाबाट जफत गरिएको १५ किलो सुनको नाइके भएको आरोप लागेको छ ।

उनी यसअघि तातोपानी नाकाबाट सुन तस्करी गर्ने गिरोहको नाइके भएको र अहिले रसुवागढी–केरुङ नाकामा सक्रिय भएको प्रहरीको भनाई छ । सो नाकाबाट भित्रिएको २२ किलो सुनमध्ये १५ किलो सुन प्रहरीले नियन्त्रणमा लिँदा पक्राउ परेका ७ जना अभियुक्तहरुको बयानका आधारमा त्यसको मुख्य नाइके पौडेल भएको खुलासा भएको हो । त्यसपछि उनलाई प्रहरीले व्यापक खोजी गर्न थाल्यो ।

भदौ २० गते उनले आफ्नो गाउँपालिकाकी उपाध्यक्ष दाबुटी शेर्पालाई एकाएक कामुको जिम्मेवारी दिएर लामो विदामा बस्ने निधो गरे र त्यहाँबाट फरार भए । २० दिनका लागि बिदामा बसेका उनी अहिले सबैसँग सम्पर्कबिहीन छन् । केही समयअघि एमालेबाट माओवादीमा प्रवेश गरेर गाउँपालिका अध्यक्ष जितेका उनको सिंगै परिवार सुन र रक्तचन्दन तस्करीमा सक्रिय रहेको प्रहरीको दाबी छ ।

माओवादीभित्रका कार्यकर्ताहरुमा देखिएको विकृतिको यो त एउटा उदाहरण मात्र हो । यसअघि पनि थुप्रै माओवादी कार्यकर्ताहरु सुन,रक्तचन्दन र जग्गा कारोबार लगायतका आर्थिक हिनामिनामा फसेका थुप्रै घटनाहरु बाहिर आइरहेका थिए ।

जब उक्त पार्टी शान्ति प्रक्रियामा आयो त्यसपछि त्यसका लडाकुदेखि अरु कार्यकर्ताहरुसमेत यो खालका कारोबारमा संलग्न हुने गरेका छन् । सिन्धुपाल्चोकमा अहिले राजकुमार पौडेल सुन तस्करको नाइके देखिएपनि त्यहाँ उनीजस्ता थुप्रै माओवादी नेता–कायकर्ता रक्तचन्दन र सुन तस्करीका नाइके रहेका छन् ।

सिन्धुपाल्चोक आफैमा चीनसँग नाका जोडिएको महत्वपूर्ण जिल्ला भएकोले पनि यसअघि सुन र रक्तचन्दन कारोबारमा त्यहाँका जिल्लादेखि केन्द्रीय तहसम्मका नेताहरु जोडिने गरेका थिए । २०७२ सालमा आएको भूकम्पका कारण सो नाका बन्द भएपछि अहिले पौडेल लगायतको समुह केरुङतिर सक्रिय भएको देखिन्छ ।

राजनीतिक नेतृत्वको संरक्षण !
जब उक्त पार्टी शान्ति प्रक्रियामा आयो, तब त्यसका नेता–कार्यकर्ताहरु बेकाम्मे भए । बेरोजगार भएपछि उनीहरुले वैकल्पिक पेशाको रुपमा तस्करीहरुसँग साँठगाँठ गर्न थाले । माओवादी कार्यकर्ताहरुको यो प्रवृत्ति सिन्धुपाल्चोकमा मात्र होइन, ७५ वटै जिल्लाका कार्यकर्ताहरुमा देखिन थाल्यो ।

सबै खालका पेशामा संलग्न भएका तस्करहरु उनीहरुका साथी बन्न थाले । अयोग्य ठहर भएर बाहिरिएका माओवादी लडाकुहरुले हतियार बोक्न थाले । हतियार चलाउन सिकेको सीपलाई उनीहरुले तस्करीमा उपयोग गर्न थाले । जसलाई प्रहरीले बेला बेलामा पक्राउ समेत गरिरहेको छ । केही वर्षअघि काठमाण्डौमै प्रहरीले माओवादी पूर्व लडाकुहरुलाई लुटपाटमा संलग्न भएको आरोपमा पेस्तोलसहित पक्राउ गरेको थियो ।

राजनीतिक आवरणमा नेता–कार्यकर्ताजस्तो देखिए पनि उनीहरुको भित्री पेशा भने तस्करीनै हुन थाल्यो । सो पेशाका कारण आर्थिक रुपमा उचाई लिँदै गएपछि माओवादी नेताहरुले समेत उनीहरुलाई संरक्षण दिन थाले ।

जसको परिणाम अहिले खुल्लमखुल्लाजस्तै सुन,रक्तचन्दन लगायतका कारोबाहरुमा उनीहरु सहभागी भैरहेका छन् । जसलाई सो पार्टीभित्रको एउटा इमान्दार पंक्तिले पार्टी सक्ने राजनीतिक खलनायकको संज्ञा दिइरहेको छ । यी खलनायकहरुकै कारण माओवादी नामको दल नेपालबाट विस्तारै सकिने बाटोतर्फ अघि बढेको जानकारहरु बताउँछन् ।