पु.समाचार

शीर्ष नेताहरुको यस्तो छ चुनाव लड्ने तयारी

काठमाडौं । प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचन मंसिरका लागि तय भएपछि दलका शीर्ष नेताहरु कहाँबाट चुनाव लड्दैछन् भन्नेबारे चर्चा सुरु हुन थालेको छ । कांग्रेस शीर्ष नेताहरूले प्रतिनिधिसभा निर्वाचनको तयारी थालेका छन् । तर, संसद्को सबैभन्दा ठूलो दल कांग्रेसका नेताहरूले खुलेर निर्वाचन क्षेत्रको घोषणा गरेका छैनन् ।

आफूहरूले लड्दै आएको परम्परागत निर्वाचन क्षेत्रमै फेरि पनि निर्वाचन लड्ने कांग्रेसका शीर्ष नेताहरूले मनस्थिति बनाएका छन् । परम्परागत क्षेत्र रहेकै ठाउँबाट निर्वाचन लड्दा बढी सुरक्षित र सहज हुने बुझाइपछि उनीहरूले परम्परागत निर्वाचन क्षेत्र नै रोजेका छन् ।

प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा अहिलेसम्मका सबै निर्वाचन डडेल्धुराबाट लड्दै आएका छन् । उनी २०७० सालको संविधानसभा निर्वाचनमा डडेल्धुरा र कैलाली ६ बाट विजयी बने । उपचुनावका लागि देउवाले कैलाली ६ छोडेर डडेल्धुरा नै रोजे । देउवाले यसपटक कहाँबाट निर्वाचन लड्ने भन्ने घोषणा गरिसकेका छैनन् । तर, एक ठाउँबाट मात्र निर्वाचन लड्न पाउने हुँदा उनले फेरि पनि डडेल्धुरा नै रोज्ने मनस्थिति बनाएका छन् ।

कांग्रेस नेता रामचन्द्र पौडेलले २०४८ सालयता तनहुँबाटै निर्वाचन जित्दै आएका छन् । २०४८ सालमा तनहुँ १ बाट जितेका उनले २०५१ सालयता तनहुँ २ बाट निर्वाचन लड्दै आएका छन् । तर, क्षेत्र निर्धारण गर्दा पौडेलले निर्वाचन जित्दै आएको तनहुँ २ यसपटक आधा आधा भएको छ । तीनबाट दुईवटा निर्वाचन क्षेत्र हुने क्रममा क्षेत्र नम्बर आधा–आधा भाग १ र २ परेपछि पौडेललाई दुवैतिरबाट लड्न माग भएको उनका स्वकीय सचिव चिरञ्जीवी अधिकारीले जानकारी दिए ।

क्षेत्र निर्धारण गर्दा नवलपरासीलाई दुईवटा जिल्ला बनाइएको छ । कांग्रेस महामन्त्री डा. शशांक कोइरालाले २०६४ र २०७० सालको संधिानसभा निर्वाचनमा जितेको नवलपरासी १ बाटै फेरि पनि निर्वाचन लड्ने तयारी गरेका छन् । नवलपरासीको पूर्वी भाग अर्थात् नवलपुरको क्षेत्र नम्बर १ बाटै कोइरालाले निर्वाचन लड्ने तयारी गरेको कांग्रेस जिल्ला सभापति विष्णु लामिछानेले जानकारी दिए ।

एमाले अध्यक्ष केपी ओलीसहित शीर्ष नेताहरूले संघीय संसद्को निर्वाचनमा लड्ने निर्वाचन क्षेत्रको तयारी थालेका छन् । शीर्ष नेताहरूले प्रत्यक्षतर्फको निर्वाचन क्षेत्रबारे पार्टीनिकट नेता र निर्वाचन क्षेत्रका कार्यकर्तासँग अनौपचारिक परामर्शमार्फत तयारी थालेका हुन् ।

निर्वाचन क्षेत्र निर्धारण आयोगले प्रतिवेदन बुझाएपछि साबिकको निर्वाचन क्षेत्रमा फेरबदल भएकाले नेताहरूले निर्वाचन क्षेत्रको रोजाइका लागि समयबाटै परामर्श अघि थालेका हुन् । अध्यक्ष ओलीसहित एमालेका सबैजसो शीर्ष नेता पुरानै निर्वाचन क्षेत्रबाट निर्वाचन लड्ने तयारीमा लागेका छन् ।

माओवादी केन्द्रका अधिकांश शीर्ष नेता प्रतिनिधिसभा निर्वाचनमा आ–आफ्नै गृहजिल्लामा उठ्ने तयारी गरेका छन् । तर, माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबाहेक कुनै नेताले जिल्ला र निर्वाचन क्षेत्र घोषणा गरेका छैनन् ।

नारायणकाजी श्रेष्ठले गोरखा २ बाट उठ्ने तयारी गरेका छन् । उनको घर गोरखा सिरानचोक गाउँपालिका–८ जौबारीमा पर्छ । श्रेष्ठको मतदाता नामावली पनि त्यहीँ छ ।

माओवादी केन्द्रका नेता रामबहादुर थापा बादलले पनि चितवनबाटै निर्वाचनमा उठ्ने तयारी गरेका छन् । थापाको मतदाता नामावली भरतपुर महानगर–१० सप्तकोसीमा छ । उनको घर चितवन १ मा पर्छ ।

मंगलबारको नयाँ पत्रिकामा लेखिएको छ, नेता वर्षमान पुन अनन्त रोल्पाबाट उठ्ने तयारी गरेका छन् । पहिलो संविधानसभा निर्वाचनमा उनी ललितपुर क्षेत्र नम्बर १ बाट निर्वाचित भएका थिए । तर, दोस्रो संविधानसभा निर्वाचनमा मोरङ ९ बाट पराजित भए । संघीय समाजवादी फोरमका अध्यक्ष सुनसरी–४ बाट निर्वाचन लड्ने तयारीमा छन् ।