आर्थिक

दशैंको मुखमा खाद्यान्न सस्तोमा पाएपछि जनतामा देखियो यस्तो आकर्षण

काठमाडौँ । दशैँ, तिहार र छठ पर्वलाई लक्षित गरी सञ्चालन गरिएका सुपथ मूल्य पसलमा उपभोक्ताको भीड देखिएको छ ।

नेपाल खाद्य संस्थान, साल्ट टे«डिङ लिमिटेड र नेशनल ट्रेडिङले सञ्चालन गरेको सुपथ मूल्य पसलमा उपभोक्ताको भीड देखिएको छ । चाडपर्वलाई लक्षित गरी सञ्चालन गरिएका ती पसलमा बाहिर तोकिएभन्दा सस्तो र गुणस्तरीय सामान पाइने संस्थानका विभागीय प्रमुख श्रीमणिराज खनालले जानकारी दिए ।

विशेषगरी ती पसलमा दिउँसोदेखि उपभोग्य सामग्री किन्न उपभोक्ताको भीड लाग्ने गरेको छ । रामशाहपथमा सञ्चालित सुपथ मूल्य पसलमा दैनिक एक सय बोरा चामल बिक्री हुने गरेको संस्थानका पुनितारानी साहले बताउनुभयो । बासमती चामल किन्नका लागि उपभोक्ता बढी आउने गरेका छन् ।

रामशाहपथमा बासमती, जिरा मसिनो, बंगलादेशी उसिना चामल, सोनामन्सुरी, मकवानपुर र ब्राउन बासमती चामल बिक्रीका लागि राखिएको छ । बामसतीमा प्रतिकिलो रु १० र अन्य चामलमा प्रतिकिलो रु पाँच छुट दिइएको छ । दुग्ध विकास संस्थानले सञ्चालन गरेको पसलमा दैनिक करिब ६० लिटर घ्यू बिक्री हुने गरेको छ ।

सुपथ मूल्य पसलमा कर्णालीको सिमीको दाल, फापर, कोदोको पिठोसमेत राखिएको छ । चाडपर्वका अवसरमा संस्थानले टेकु, थापाथली, सातदोवाटो, कालिमाटी, कोटेश्वर, सूर्यविनायक, जोरपाटी, कलंकी र जावलाखेलमा पसल सञ्चालन गरेको छ । यही भदौ १६ गतेबाट सञ्चालन भएका ती पसल छठपर्वसम्म चल्नेछन् ।