पु.समाचार

माओवादी केन्द्र पोखरा–लेखनाथ महानगर समितिको अध्यक्षमा लामिछाने

पोखरा । नेकपा (माओवादी केन्द्र) प्रथम पोखरा–लेखनाथ महानगर सम्मेलनले विश्व प्रकाश लामिछानेको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको छ ।
समितिको उपाध्यक्षमा गोमा ढकाल, सचिवमा विनय थापा र कोषाध्यक्षमा जनकराज पराजुलीलाई चयन गरेको छ ।  समितिको एक उपाध्यक्ष र दुई जना सदस्यपछि मनोनित गरिने सचिव विनय थापाले बताए । महानगरका ३३ वटै वडाबाट निर्वाचित ८०० प्रतिनिधि सम्मिलित सम्मेलन आइतबार साँझ सकिएको थियो ।

पोखराको सस्तो बजारमा शंकास्पद वस्तु फेला

पोखरा–लेखनाथ महानगरपालिका–९ पृथ्वीचोकस्थित पोखरा सस्तो बजारमा आज बिहान शंकास्पद वस्तु फेला परेको छ । नेपाल वायु सेवा निगमको स्वामित्वमा रहेको सो जमिनमा एक व्यवसायीले ठेक्कामा लिएर सटर निर्माण शुरु गरेका र त्यस ठाउँमा एका बिहानै झोलामा पोको पारेर राखिएको शंकास्पद वस्तु फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रवक्ता खड्गबहादुर खत्रीले जानकारी दिए । उनका अनुसार शंकास्पद वस्तुलाई निष्कृय बनाउन नेपाली सेनाको एक टोली त्यस ठाउँमा पुगेर अनुसन्धान गरिरहेको छ ।

एक महिनाअघि त्यस ठाउँमा रहेका २१७ जना व्यापारीलाई हटाएर खाली गरी अहिले ठेक्कामा लिएका ठेकेदार धमाधम नयाँ सटर बनाउँदै गरेका थिए ।