खेलकुद

सरकारले खेललाई उच्च प्राथमिकतामा राखेको छ : मन्त्री केसी

पोखरा । युवा तथा खेलकुद मन्त्री राजन केसीले सरकारले खेल क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको बताएका छन् ।

कास्की जिल्ला टेनिस संघद्वारा आयोजित नेपाल आइटिएफ सिनियर च्याम्पियनसिपको आज यहाँ उद्घाटन गर्दै उनले खेलकुदको विकास गर्दै देशमा व्यावसायिक खेलाडी उत्पादन गर्नेतर्फ सरकार लागेको बताए । पर्यटकीय नगरी पोखरामा खेल पर्यटनको विकासका धेरै सम्भावना रहेको उल्लेख गर्दै उनले खेलको विकासका लागि सरकारका साथै उद्योगी, समाजसेवी सबैको साथ र सहयोग आवश्यक हुने बताए ।

“पोखरालाई खेलको केन्द्र बनाउने हाम्रो योजना छ”, उनले भने, “आसन्न दक्षिण एशियाली खेलकुदका छवटा खेल पोखरामा गर्ने लगभग तय भइसकेको छ, थप अध्ययनपछि उक्त संख्या सात/आठ पुग्न पनि सक्छ ।”

खेलको विकासको लक्ष्यका साथ सरकारले हाई अल्टिच्युड ट्रेनिङ सेन्टरको स्थापनाको तयारी गर्न लागेको उनले बताए । नेपाल लन टेनिस संघका केन्द्रीय अध्यक्ष ज्योति राणाले नेपालमा लन टेनिसको विकासका धेरै सम्भावना रहेको उल्लेख गरे ।

कास्की जिल्ला टेनिस संघका अध्यक्ष विनोद कायस्थले प्रतियोगितामा फिनल्याण्ड, भारत र नेपालका गरी ९० जना प्रतियोगीले भाग लिने जानकारी दिए ।