राजनीति

नेपाली कांग्रेसको भावी सभापतिमा यसकारण यी दुई नेताको भविष्य सुनौलो देखियो !

काठमाण्डौ । नेपाली कांग्रेस मुलुकको प्रभावशाली राजनीतिक शक्ति हो । जसको राजनीतिक इतिहास अन्य दलहरुको भन्दा निकै लामो र ओजिलो देखिन्छ । करिब ७० वर्ष लामो राजनीतिक इतिहास बोकेको उक्त पार्टीभित्र पार्टी स्थापना भएदेखि नै राजनीतिक नेतृत्वका लागि कडा प्रतिस्पर्धा हुँदै आएको देखिन्छ ।

२००७ सालदेखि २०७४ सालसम्म आइपुग्दा उक्त पार्टीभित्र नेतृत्वका लागि निकै कडा प्रतिस्पर्धा भैरहेको छ । निकै लामो इतिहास भएको राजनीतिक शक्तिभित्र बुढा र पाका नेताहरुको बर्चस्व हुनु स्वभाविक हो । त्यसैले कांग्रेसभित्र अत्याधिक पूराना र बयोबृद्ध नेताहरुको संख्या उल्लेख्य रहेको छ । लामो समय उनीहरुले राजनीतिक नेतृत्वमा बस्दा युवा नेताहरुले राजनीतिक नेतृत्व गर्न नपाउने र मुलुक हाँक्ने निर्णायक ठाउँमा पुग्न कठिनाई हुने बहसहरु बाहिर आइरहेका छन् । युवा नेतृत्वलाई अवसर नदिँदा नेपाली कांग्रेसले थुपै्र अवसरहरुलाई समेत गुमाएको देखिन्छ ।

यसै सन्दर्भमा पछिल्ला वर्ष नेपाली कांग्रेसभित्र कसले पार्टीको नेतृत्व हत्याउने भन्ने विषयमा थप कडा प्रतिस्पर्धा देखिदै आएको छ । पार्टीभित्र संस्थापनका अतिरिक्त कोइराला,पौडेल, सिटौला लगायतका गुटहरु देखापरेका छन् । जसका कारण अघिल्लो १३ औं महाधिवेशनमा चर्को प्रतिस्पर्धा भएको थियो ।

चर्को प्रतिष्पर्धाका बाबजुद सभापतिमा शेरहादुर देउवाले बाजी मारेका थिए । पार्टीका बरिष्ठ नेता रामचन्द्र पौडेल, कोइराला परिवारबाट अघि आउँदै गरेका नेताहरुर शशांक कोइराला, शेखर कोइराला, नेतृ सुजाता कोइराला, नेता कृष्णप्रसाद सिटौला लगायतका नेताहरुका नाममा गुट सञ्चालित भएको देखिन्छ र पछिल्लो समयमा कोइराला परिवारका तीन नेताहरु एक हुने छाँटकाँट देखिएको छ । यही बीचमा यसेबला कांग्रेसभित्र केही नेताहरुको नाम लिएर पार्टीभित्र र बाहिर भावी पार्टी सभापतिको बारेमा बहस उठ्न सुरु भएको छ ।

पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी डा.आरजु देउवा र युवा नेता गगन थापाले भविष्यमा पार्टी सभापतिका लागि दाबी गरेमा उनीहरुले विजय हासिल गर्न सम्भावनाका रुपमा लिइँदैछ । हुन त नेपाली कांग्रेसभित्र अझै थुप्रै वर्ष पूरानो नेतृत्वलेनै कमाण्ड गर्ने सम्भावना नजिकै देखिन्छ, तैपनि पार्टी सभापति शेरबहादुर देउवाले नेतृत्व छाड्ने निश्चित भयो भने उनले पत्नी आरजुलाई अघि सार्ने सम्भावना बलियो बन्दै गएको जानकारहरु बताउँछन् ।

त्यसबेला पार्टीभित्र देउवाले कुनै एउटा गुटलाई समर्थन गर्ने र पत्नी देउवालाई सभापति बनाउनका लागि मार्गप्रशस्त गर्न सक्ने बताइन्छ । त्यसका लागि उनले अहिले देखिनै पत्नी आरजुका लागि राजनीतिक स्पेस तयार गर्ने अभियानमा लागेको बताइन्छ । श्रोतका अनुसार डा.आरजु देउवाले आगामी संघीय संसदको चुनावमा सुदुरपश्चिमको कुनै जिल्लाबाट उम्मेद्वारी दिने तयारी भैरहेको बताइन्छ ।

नेतृ आरजुले कैलाली, कञ्चनपुर वा डडेल्धुराबाट चुनाव लड्ने तयारी भैरहेको श्रोतको दाबी छ । उनले संघीय संसदको चुनावमा पश्चिमबाट जित हासिल गरेलगत्तै पार्टीमा राम्रो प्रभाव पार्न सकिने र भोलीको भावी पार्टी सभापतिका लागि बाटो खुलाउने तयारीमा उनी रहेको बताइन्छ ।

त्यस्तै, कांग्रेसभित्र यसबेला भावी नेतृत्वको रुपमा युवानेता गगन थापाको बारेमा पनि बहस चर्किरहेको देखिन्छ । उनले यसमा दाबी गरे अघि आउने सम्भावना पनि देखिन्छ । यसबेला पार्टीभित्र र बाहिर गगन थापालाई पार्टी सभापतिका रुपमा अघि बढाउनुपर्ने र मंसिरमा हुने संघीय संसदको चुनावमा उनलाई प्रधानमन्त्रीको उम्मेद्वारको रुपमा अघि सारेर सोही नारामा चुनाव लड्नुपर्ने सुझाव समेत सामाजिक सञ्जाल लगायतबाट आइरहेको छ ।

युवा नेता थापालाई यसरी उम्मेद्वारकै रुपमा अघि सारेर चुनाव लडेमा नेपाली कांग्रेस मुलुककै सबैभन्दा ठूलो र शक्तिशाली पार्टी त निर्माण हुन्छ तर पार्टीभित्र मौलाइरहेका अन्य गुटले उनलाई अघि बढ्न नदिने चूनौती पनि उत्तिक्कै देखिन्छ ।

नेता थापा भावी पार्टी सभापतिको रुपमा उठ्ने तरखरमा देखिए उनलाई कोइराला परिवारले कि त काखी च्याप्ने कि राजनीतिक स्पेसबाटै बाहिर गलहत्याउने सम्भावना समेत रहेको श्रोतको दाबी छ ।

नेता थापालाई त्यसबेला डा.शशांक कोइरालाले काखी च्याप्ने सम्भावना छ, जसले उनलाई पार्टी सभापति बनाउन सक्छ वा शशांक कोइरालालाई नै पार्टी सभापति बनाउन सक्छ । यसरी अहिले डा.आरजु देउवा र युवा नेता गगन थापालाई भावी नेतृत्व दिनुपर्ने भन्दै उठेको आवाजले नेपाली कांग्रेसको सांगठनिक संरचनामा रुपान्तरण संकेत देखिएको जानकारह बताउँछन् ।