राजनीति

राज्यमन्त्री विकले आफ्नै मन्त्री शिवकुमार मण्डलको सेखी झार्न खोज्दा, यसरी आफै फसे !

काठमाण्डौ । आपूर्ति मन्त्री शिवकुमार मण्डलले दरबारमार्गका पसलहरुमा छापा मारेको केही दिन पनि नवित्दै आपूर्ति राज्यमन्त्री कर्णबहादुर विकले पनि आइतबार एउटा ठूलै घरनिया व्यावसायीको सो रुममा छापा मारेका छन् । राज्यमन्त्री विकले नेपालको घरानिया व्यावसायी चौधरी ग्रुपले सञ्चालन गरेको सुजुकी सर्भिस सेन्टरमा छापमा मारेका हुन् । यद्यपि, राज्यमन्त्री विकको सो अभियानमा ‘माछो–माछो भ्यागूतो’ जस्तो भएको छ ।

आइतबार अपरान्ह सरकारी तथा नीजि सञ्चारमाध्यामका पत्रकारहरुको टोली,मन्त्रालय र मातहतका कर्मचारीहरुको टोलीसहित चौधरी ग्रुपले सञ्चालन गरेको ललितपुरस्थित सुजुकी सेन्टरमा राज्यमन्त्री विक छापा मार्न पुगेका थिए तर उनले त्यहाँ कुनै प्रमाणहरु फेला पार्न सकेनन् ।

सो क्रममा राज्यमन्त्री विकको टोलीलाई सुजुकी सेन्टरका प्रवन्ध निर्देशक करण चौधरीले सर्भिस सेन्टर घुमाएका थिए । झण्डै आधा घण्टाको अनुगमनमा उनले त्यहाँ त्यस्तो खालको गडबड भएका प्रमाणहरु फेला पार्न सकेनन् । उल्टै सुजुकीका कर्मचारीहरुले राज्यमन्त्री विकलाई ब्रिफिङ गरेर फर्काइदिए ।

उनी त्यसबेला अनुगमन गर्न आएको मन्त्री भन्दा पनि गाडी खरिद गर्न आएको नबुझेको ग्राहकलेझै कर्मचारीका कुरा सुनिरहेका थिए । केही प्रमाण नभेटिएपछि उनले अन्तमा कम्पनीको प्रज्ञापन पत्र, एक वर्षभरि खरिद बिक्री गरेको सामानको बिल,खरिद खाता तथा बिक्री खाता,कम्पनीले राखेको मार्जिन लगायतको विवरण बुझाउन निर्देशन दिँदै बाहिरिएका थिए ।

उता,दशैको मुखमा सर्वसाधारणको प्रत्यक्ष सरोकारसँग जोडिएका खाद्यवस्तुको अनुगमनमा जानुको साटो मोटर कम्पनीतिर गएर अनुगमन गर्ने राज्यमन्त्री विकको उद्धेश्य भने मन्त्री शिवकुमार मण्डलकै जसरी हिट हुने भित्री चाहानाले भएको मन्त्रालयकै कर्मचारीहरु बताउँछन् ।

ठुलै घरनाको व्यापारिक सो रुममा गएर अनुमगन गरी नाम कमाउने सपना बोकेर सुजुकी पुगेका राज्यमन्त्री विक उल्टै लज्जित भएर फर्किएपछि धेरैले अचम्म मानेका छन् ।

दशैको मुखमा खाद्यान्नमा चरम महंगी तर मन्त्रीको आँखा मोटर कम्पनीमा !
हिन्दुहरुको ठूला चाड दशैं र तिहार नजिकिदै जाँदा सर्वसाधारणका लागि अपरिहार्य वस्तु खाद्यान्नको मूल्य आकाशिएको छ । चाडपर्वको आडमा व्यापारीहरुले कालोबजारी गर्ने गरेका खबर समेत बाहिर आइरहेका छन् ।

तरकारी पसलदेखि नुन, तेल, चामल, दाल लगायतका उपभोग्य वस्तुहरुमा चरम महंगी छ । यो सवालमा राज्यले बेलैमा पहल लिन नसक्दा उपभोक्ताहरु मारमा परिरहेका छन् ।

चाडपर्वको मुखमा सर्वसाधारणको प्रत्यक्ष उपभोग र सरोकारसँग जोडिएको खाद्य वस्तुमा भन्दा मोटर कम्पनीतिर राज्यमन्त्री विकको ध्यान गएको देख्दा आपूर्ति मन्त्रालयका कर्मचारी समेत छक्क परेका छन् । यतिसम्मकी राज्यमन्त्री विक आइतबार सुजुकी मोटर सो रुममा जाने योजनाबारे मन्त्रालयको सचिवालय टोलीलाई समेत थाहा नभएको एक कर्मचारी बताउँछन् ।

उनको भनाई अनुसार यसबाट के पुष्टि हुन्छ भने राज्यमन्त्री विकले पनि मन्त्री शिवकुमार मण्डलकै शैलीमा केही गरेजस्तो गरेर हिट बन्ने चाहाना राखेका हुन् । तर उनको अपरिपक्व छापा मराईले उल्टै लज्जित भएर फर्किनुपरेको अनुगमन टोलीमा सहभागी एक कर्मचारीले बताए ।