अन्तर्राष्ट्रिय

मिसाइल बैज्ञानिकहरुसँग उत्तर कोरियाली नेताको रात्रिभोज, क्षेप्यास्त्र थप विकास गर्न निर्देशन

सोल । उत्तर कोरियाली नेता किम जोङ उनले उक्त देशले हालै गरेको क्षेप्यास्त्र परीक्षणको काममा निकै ठूलो सफलता हात पारेको प्रतिक्रिया दिएका छन् ।

उनले यसलाई आफ्नो देशको ठूलो सफलता हो भन्दै यसप्रति सिंगो देशले नै गर्व गर्नुपर्नेमा जोड दिएका हुन् । उत्तर कोरियाली सञ्चारमाध्यमहरुले आइतबार सो जानकारी दिएका छन् ।

उत्तर कोरियाले अन्तर्राष्ट्रिय समुदायको आग्रहको बेवास्तागर्दै आणविक परीक्षणहरु गर्दै आएको छ । उसले गतहप्ता मात्र एक शक्तिशाली आणविक परीक्षण गरेको थियो र त्यो परीक्षण हाइड्रोजन बम विश्रित रहेको पुष्टी पनि भएको छ ।

उत्तर कोरियाली नेताले उक्त हाइड्रोजन बमको परीक्षणका अन्वेषक र यसमा संलग्न मिसाइल बैज्ञानिकहरुसँग शनिबार राति रात्रिभोज गरेको समाचारमा जनाइएको छ ।

उनले ती बैज्ञानिकहरुलाई विशेष धन्यवाद पनि ज्ञापन गरेको उत्तर कोरियाली सरकारी सञ्चारमाध्यमहरुले जानकारी दिएका पछिल्लो समाचारमा जनाइएको छ ।

उक्त रात्रिभोजसँगै उनले मिसाइल बैज्ञानिकहरुलाई आगामी दिनमा थप हतियारको विकासका लागि पनि निर्देशन दिएका थिए । उनले अझै शक्तिशाली हतियार र क्षेप्यास्त्र निर्माणका लागि निर्देशन दिएको समाचारमा उल्लेख गरिएको छ ।

उता उत्तरले गरेको हाइड्रोजन बम परीक्षणको समाचारलाई संसारका समाचार समितिहरुले आजसम्म पनि एक विश्व समाचारकै रुपमा सम्प्रेषण गरिरहेका छन् । ती समाचारहरुमा यो घटनाबाट संसारमा खतरा पैदा भएको मात्र नभई आणविक शस्त्रको होड बढाउने त्रासका रुपमा पनि टिप्पणी गरेका थिए ।

उत्तर कोरियाका सरकारी सञ्चारमाध्यमहरुले उत्तर कोरियाले गरेको हाइड्रोजन बम शक्तिशाली र सफल भएको जनाएका थिए । उत्तर कोरियाले बारम्बार यस्ता क्षेप्यास्त्रहरु परीक्षण गर्दै आएको छ ।

पहिलेको भन्दा यस परीक्षण धेरै शक्तिशाली रहेकोले पनि विश्वमा उत्तर कोरियाको हिजोको परीक्षणले तनाव उत्पन्न गरेको बताइन्छ । उत्तर कोरियाले यसअघि गरेको पाँचौ पटकको परीक्षणभन्दा यो कम्तीमा पनि दश गुणा बढी शक्तिशाली रहेको टिप्पणीहरु गरिएको छ ।

महासचिव गुटरेशको चिन्ता

यसैबीच संयुक्त राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटरेशले उक्त आणविक परीक्षणको घटनाले आफूलाई स्तब्ध बनाएको प्रतिक्रिया दिएका छन् ।

उनले एक अन्तरवार्तामा भनेका छन्– यसरी आणविक परीक्षण र त्यसमा पनि हाइड्रोजन बम नै हान्नु अत्यन्तै चिन्तापूर्ण अवस्था हो, विश्व शान्तिका क्षेत्रमा यो पछिल्ला बर्षहरुको एक सबैभन्दा नराम्रो घटना हो ।

एक फ्रान्सेली पत्रिकालाई दिएको अन्तरवार्तामा उनले यस्तो अवस्थामा संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदमा एकता हुनपर्नेमा जोड दिएका छन् ।

उनले भनेका छन्– यो हतियारको प्रदर्शन हो र यसले संसारमा कहीँ पनि र कसैलाई पनि फाइदा गर्दैन, अबका दिनमा उत्तर कोरियालाई नाकाबन्दी लगाउने वा कारबाही गर्ने विषयमा सबै मिलेर सर्वसम्मत निर्णय नै गर्नुपर्छ ।

उत्तर कोरियामाथि नाकाबन्दी र कारबाही गर्न संयुक्त राष्ट्रसंघमा अमेरिकाले नयाँ प्रस्ताव ल्याएको छ । तर त्यस प्रस्तावमा सहमति हुन सकिरहेको छैन । यसै पृष्ठभूमिमा उनको यो टिप्पणी आएको हो ।