पु.समाचार

भूकम्पपीडितलाई तालिम र रोजगारीको समन्वय गर्दै होमनेट

काठमाडौँ । होमनेट नेपालले सञ्चालन गरेको भूकम्पपीडितलाई सीपमूलक तालिम र रोजगारी कार्यक्रम प्रभावकारी देखिएको छ ।

सो संस्थाले रोजगारीको खोजीमा रहेको भूकम्पपीडितको विवरण लिई रोजगारदाता संस्थासँग समन्वय गरी रोजगारी उपलब्ध गराउँदै आएको छ ।

शहरी रोजगार कार्यक्रमअन्तर्गत खाद्य सुरक्षा तथा जीविकोपार्जन परियोजनाअन्तर्गत अक्सफाम नेपालको सहयोगमा होमनेटले निःशुल्क रुपमा रोजगारी खोजिदिने र तालिम दिने कार्यक्रम गर्देआएको छ ।

परियोजनाका निर्देशक रञ्जना शर्माले आफूहरुले खासगरी औपचारिक क्षेत्रमा भन्दा पनि अनौपचारीक क्षेत्रमा रोजगारिका लागि भूमिका खेल्ने गरेको बताईन् ।

भूकम्पबाट प्रभावितलाई उमेर, सीप अनुसार सुहाउँदो काम, तालिम तथा व्यवसायको पहिचान गरी सम्बन्धित स्थानसम्म पदस्थापनका लागि भूमिका खेल्दै आएको उनको भनाइ छ ।

उनले भनिन्,–“रेडियोमार्फत भूकम्पपीडित गरिब परिवारलाई रोजगारीको खोजिमा हुनुहन्छ भने सम्पर्क गर्नुहोस् भनेर विज्ञापन दिने गरेका छौं, सोही आधारमा आवेदन दिएकाको सीप, दक्षताअनुसारको हामीले रोजगारी खोजीदिने गरेका छौँं ।

सिन्धुपाल्चोक, ठूलो सिरुबारीकी रेनुका दुलालले होमनेटको सहयोगमा विशालबजारमा रहेको एक पसलमा रोजगारी पाएकी छन् ।

उनले भनिन्, “रेडियोमा भूकम्पपीडितलाई रोजगारी भन्ने विज्ञापन सुने, होमनेटको कार्यालयमा आएर निवेदन दिए केही दिनपछि यहाँ रोजगारी पाए ।”

सिन्धुापाल्चोक, साँगाचोकगढीकी गंगा तामाङले पनि होमनेटमा रोजगारीका लागि आवेदन दिएकी थिईन् । सोही संस्थाको सहयोगमा लाजिम्पाटमा रहेको एक होटलमा हाउसकिपिङको काम पाएकी छन् ।

सोही संस्थाको सहयोगमा काष्ठ, प्रस्तर र कारिगढी तथा परम्परागत गारो लगाउने तालिम गत हप्तामात्रै सम्पन्न भएको छ । तालिम लिएलगत्तै सहभागीले रोजगारी पाउन सुरु गरेको बताउँछन् ।

कीर्तिपुरकी मनिता महर्जनले परम्परागत गारो बनाउने तालिम लिईन् । उनले बुटा कसरी राख्ने, झीँगटी लगाउने लगायतका तालिम लिएको जानकारी दिईन् ।

ललितपुर, बडिखेल गोदावरीकी रीतु नगरकोटीले गारो लगाउने कामको तालिम लिईन् । महिलालाई यस्तो काम गर्न अप्ठेरो हुँदैन भन्ने प्रश्नमा उनले भनिन्, “खासै अप्ठेरो हुँदैन, यो काम देख्दा शारीरिक परिश्रम बढी हुने गरेको देखिए पनि काम गर्दा शारीरिक परिश्रम भन्दा मानसिक परिश्रम बढी गर्नुपर्छ ।

ललितपुर, चाँपागाउँकी रमिता देशारले काष्ठकारी गढीको १५ दिने तालीम लिएपछि अहिले रोजगारी पाउन सहज भएको बताईन् ।

भूकम्पपछि भत्किएका ऐतिहासिक संरचना पुनःनिर्माणको क्रममा ठूलो संख्यामा काष्ठ, प्रस्तर र कारीगढी तथा परम्परागत गारो लगाउने मजदुरका माग रहेकोले यस्तो तालीम लिएकाहरुले रोजगारी पाउने निश्चित छ ।

मूर्तिको अनुहारको भाग बनाउने तालिम लिएका ललितपुर, न्याखाचोक पाटनका शैलेन्द्र बज्रचायले मूर्तिको हात, खुट्टालगायतका भाग आफूले बनाए पनि मुखको भाग भने तालिमको अभावमा अरुले बनाउने गरेकोमा तालिमपछि आफै बनाउन लागेको जानकारी दिए ।

काम पाएको बेला महिनामा रु ३० हजार बराबरको रकम आफूले घरमै बसिबसी कमाउने गरेको उनले जानकारी दिए ।

परियोजनाकी निर्देशक शर्माले आफ्नो संस्थामा हालसम्म करिब ६ सयले रोजगारी खोजीदिन आग्रह गर्दै आवेदन दिएको र त्यसमध्ये १२६ जनालाई रोजगारी खोजिदिएको जानकारी दिईन् ।