पु.समाचार

विदेशमा पाएको दुःखले रोजगारीमा जाने युवाको संख्या घट्दै !

रोल्पा । रोजगारीको शिलशिलामा सात वर्ष साउदी अरवमा काम गरेका रोल्पा ह्वामाका खिमबहादुर केसी अचेल सदरमुकाम लिवाङमा आफैँ गाडी किनेर यातायात व्यवसाय गर्छन् । सदरमुकाम लिवाङबाट भित्री ग्रामीण क्षेत्रमा यातायात सञ्चालन गर्दै आएका उनले मासिक सरदर एक लाख ५० हजार आम्दानी गर्दै आएका छन् ।

लिवाङमा स्टेशनरी पसल गर्दै आएका दिलकुमार डाँगी चार वर्ष विदेशमा पसिना बगाएका अर्का युवा हुन् । उच्च माध्यमिक स्तरको पढाइ पूरा गरेका उनी देशभित्र रोजगारी नपाएपछि विदेशिन बाध्य भएका थिए । अहिले स्टेशनरी पसलबाट दैनिक राम्रै आम्दानी गर्दै आएका उनलाई व्यवसायमा परिवारका अन्य सदस्यले समेत साथ दिने गरेका छन् ।

सदरमुकाम लिवाङमा किराना पसल सञ्चालन गर्दै आएका बालाजु श्रेष्ठ करिब चार वर्ष दक्षिण कोरिया बसेका युवा हुन् । वाणिज्य शास्त्र अध्ययन गरेका उनी पढाइपछि देशमा रोजगारी पाउन नसकेपछि विदेशिन बाध्य भए । दक्षिण कोरिया बसाइमा राम्रै आम्दानी गरेका उनी अब भने विदेश नजाने सोचमा छन् ।

रोजगारीका कुनै विकल्प नभएपछि बाध्यतावंश विदेशिएका रोल्पाली युवाका प्रतिनिधि पात्र हुन यी युवा । उच्च माध्यमिक स्तरको पढाइ पूरा गरेपश्चात् देशभित्र रोजगारीको अवसर नपाउँदा शिक्षित युवा विदेशिन बाध्य भएका छन् ।

घरको कमजोर आर्थिक अवस्थाका कारण विदेशिन बाध्य युवा विदेशमा पाएको दुःखका कारण पछिल्ला दिनमा भने स्वदेशमै रोजगारीका अवसर खोज्न थालेका छन् । विदेशमा गरेको दुःख स्वदेशमै गरे राम्रो आम्दानी गर्न सकिने अनुभवसँगै उनीहरुको धारणामा परिवर्तन आएको छ ।

विदेशमा भनेजस्तो पारिश्रमिक नदिनु, गाह्रो तथा जोखिमपूर्ण काममा लगाउनु तथा भनेका बेला पारिश्रमिक नदिने भएका कारण युवाको विदेश मोह क्रमशः कम हुँदै गएको देखिएको छ ।

जिल्ला प्रशासन कार्यालय रोल्पाको तथ्याँकअनुसार आव २०७२/०७३ मा छ हजार ८५७ जनाले विदेश जानका लागि राहदानी लिएकोमा आव २०७३/०७४ मा चार हजार २३६ जनाले मात्र राहदानी लिएको देखिएको छ । यो संख्या अघिल्लो वर्षको तुलनामा दुई हजार ६२१ ले कम हो । यसरी विदेश जानेमध्ये १५ प्रतिशत महिला रहेको बताइएको छ ।

अघिल्ला वर्षमा दैनिक १८/१९ जनाले राहदानी लिने गरेको भए पनि गत वर्ष यो संख्या घटेर ८/१० जनामा झरेको जिल्ला प्रशासन कार्यालय रोल्पाका राहदानी फाँटका नायब सुब्बा डिल्लीराज रेग्मीले बताए । राहदानी लिने रोल्पाली युवाको संख्या घट्नु दीर्घकालीन रुपले सकारात्मक भएको बताइएको छ ।

नौ वर्षसम्म कतार बसेका रोल्पा कोर्चवाङका कैलाश घर्तीले विदेश जान इच्छुक विदेश गइसकेको र नयाँ पुस्ताले पढिरहेका कारण विदेश जानेको संख्या घटेको हुनसक्ने बताए । विदेश जानेको संख्या घट्नु देशमै रोजगारीका अवसर प्राप्त हुँदैछ भन्ने कुराको संकेत हुनसक्छ घर्तीले भने ।

वैदेशिक रोजगारीमा जाने अधिकांश रोल्पाली ज्यालामजदुरी कामदारको रुपमा रहने भएका कारण दुःख बढी र ज्याला कम हुँदा पनि आकर्षण घट्दै गएको घर्तीले बताए । जोखिमपूर्ण कामले अंगभंग हुने तथा मृत्यु हुने संख्यामा आएको वृद्धिसँगै नयाँ पुस्तामा आकर्षण घट्दै गएको उनले बताए ।

बीस वर्षपछि भएको स्थानीय तहको निर्वाचनमा युवाको आबद्धताले पनि यस वर्ष विदेश जाने युवाको संख्या कम भएको हुनसक्ने प्रमुख जिल्ला अधिकारी डा डीजन भट्टराईले बताए । जिल्लामा विकास निर्माणका कामसमेत गत वर्ष बढी भएका कारण युवा त्यसमै संलग्न भएर यो संख्या कम भएको उनले बताए । स्वदेशमै बसेर रोजगारीका अवसर प्राप्त गर्न सकिन्छ भन्ने सोच विकास हुनु सकारात्मक भएको उनको भनाइ छ ।

जिल्लामै रोजगारीका अवसर प्राप्त हुन थालेपछि रोल्पाबाट रोजगारीका लागि विदेशिनेको संख्यामा कमी आउन थालेको छ । लामो समयसम्म विदेशमा बसेर काम गर्दासमेत घरको आर्थिक अवस्थामा परिवर्तन ल्याउन नसक्दा युवामा स्वदेशमै बसेर जीविकोपार्जन गर्ने आँट पलाएको हो । विदेशमा सिकेको सीप र अनुभवले स्वदेशमै स्वरोजगार हुन प्रेरित गरेका कारण वैदेशिक रोजगारीमा आकर्षण घट्दै गरेको बताइएको छ ।