पु.समाचार

‘सामान्य भनेर छाडिएका कुराबाट विकराल भ्रष्टाचार’

नुवाकोट । जिल्लालाई भ्रष्टाचारमुक्त बनाउने अभियान शुरु भएको छ ।

जिल्लामा रहेका आठ संस्थाले संयुक्त रुपमा सो अभियानको शुरुवात गरेका हुन् । सदरमुकाम विदुरमा शुक्रबार भएको कार्यक्रममा सहभागी जनप्रतिनिधि तथा सरकारी कर्मचारीले सार्वजनिक रुपमा भ्रष्टाचारविरुद्धको अभियानपत्रमा हस्ताक्षर गरेर अभियानको शुरुवात गरेका हुन् । नागरिकको बढी चासो रहने र कामकाज हुने निकायमा आर्थिक लेनदेन तथा समयको भ्रष्टाचार हुँदै आएकामा सचेत नागरिकले चिन्ता व्यक्त गरेका छन् ।

जिल्ला समन्वय समितिका प्रमुख सन्तमान तामाङले जिल्लालाई भ्रष्टाचारमुक्त बनाउनका लागि आफू सक्रिय हुने बताए । उनले भने, “सामान्य भनेर छाडिएका कुराबाट विकराल भ्रष्टाचार हुने गरेको छ । सामान्य कुरामा पनि नागरिकले आवाज उठाउन थाले मात्रै भ्रष्टाचारमुक्त जिल्ला बन्ने परिकल्पना साकार हुन्छ ।”

विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितले जनप्रतिनिधिहरु भ्रष्टाचारमुक्त जिल्लाको अभियानमा लागिरहेको र त्यसमा सबै निकाय, संघसंस्था र नागरिकको साथ आवश्यक पर्ने बताए । स्थानीय विकास अधिकारी केशरबहादुर पण्डितले सरकारी क्षेत्रमा मात्र नभई गैरसरकारी क्षेत्रमा समेत भ्रष्टाचार हुने गरेको तर्फ कम ध्यान जाने गरेको बताए ।
यसलाई अभियानका रुपमा निरन्तर सञ्चालन गरिने सिडिसी नेपालका कार्यकारी निर्देशक विष्णुराज नेपालले बताए । सो अभियान इन्सेक, नेपाल पत्रकार महासंघ, गैरसरकारी संस्था महासंघ, ट्रान्सपरेन्सी इन्टरनेशनल नेपाल, नुवाकोट बार, सामुदायिक विकास केन्द्र, सामुदायिक वन उपभोक्ता महासंघ, नेपाल नागरिक समाज नुवाकोटलगायत संस्थाले संयुक्त रुपमा अघि बढाएका हुन् ।