पु.समाचार

दरबारमार्गका सिलबन्दी पसल खुलाउन माग गरी आएका टोली, पाए मन्त्री मण्डलको यस्तो चेतावनी !!

काठमाडौँ । आपूर्तिमन्त्री शिवकुमार मण्डलले दरबारमार्गमा चर्को मूल्य लिने व्यवसायीलाई कानूनअनुसार कारबाही हुने बताएका छन् ।

सिलबन्दी गरिएका पसल खुलाउन माग गरी आफूलाई आज भेट गर्न आएको नेपाल उद्योग वाणिज्य महासंघको प्रतिनिधिमण्डलसँग मन्त्री मण्डलले सो विषय कानूनीरुपमा हल हुने बताउँदै भने,“ विद्यमान कानूनले जे दिएको छ त्यसैअनुसार हुन्छ, गलत गरेको छ भने दण्डित हुन्छ, हैन भने केही हुन्न ।” यो एउटा चेतावनी भन्दा कम थिएन ।

उनले पहुँच छ भन्दैमा जे गरे पनि हुन्छ भन्ने प्रवृत्ति अन्त्य गर्न व्यवसायीलाई आग्रह गर्दै उपभोक्तालाई सहज र सुलभ तरिकाले वस्तु उपलब्ध गराउनुपर्नेमा अनुगमनमा जाँदा व्यापारीले गैरजिम्मेवारीपूर्ण अभिव्यक्ति व्यवहार गर्ने गरेकाले कारबाहीको भागीदार हुनुपर्ने बताए ।

महासंघका अध्यक्ष भवानी राणाको नेतृत्वमा आएको टोलीले अनुगमनबाट व्यापारीको छवि नै बिग्रेकाले सिलबन्दी गरेका पसल खोलिदिन अनुरोध गरेको थियो ।

त्यसको जवाफमा मन्त्री मण्डलले कारबाही गर्दा छविमा धक्का पर्ने भए व्यापारीलाई ठगी नगर्ने गरी सचेत हुन आग्रह गरे । मन्त्री मण्डलले भने “मर्का परेको विषयमा छलफल गर्नुस् तर व्यक्तिले राज्य ठग्नु ठीक भएन ।”