पु.समाचार

भुटानी शरणार्थी समस्याबारे छलफल

काठमाडौँ । गृहमन्त्री जनार्दन शर्मा र यहाँस्थित शरणार्थीसम्बन्धी संयुक्त राष्ट्रसंघीय उच्चायुक्त (युएनएचसीआर)का प्रतिनिधि केभिन जे अलेनबीच आज भएको भेटवार्तामा नेपालमा रहेका भुटानी र तिब्बती शरणार्थी समस्या समाधानका विषयमा छलफल भएको छ ।
गृह मन्त्रालयमा आज भएको भेटमा मन्त्री शर्माले भुटानी शरणार्थी समस्या समाधानका लागि नेपाल तयार भए पनि भुटान तयार नभएको बताए । उनले भने, “हामी वार्ता गरेर भुटानी शरणार्थी समस्या समाधान गर्न चाहन्छौँ तर भुटान सरकार तयार छैन ।”

उनले विश्व खाद्य कार्यक्रमले शरणार्थीलाई दिँदै आएको खाद्य सहायता कार्यक्रम रोकेमा थप संकटमा पर्ने चिन्ता व्यक्त गरेको गृहमन्त्रीको सचिवालयले जनाएको छ । राष्ट्र संघको आगामी महासभामा सहभागी हुँदा शरणार्थी समस्याबारे छलफलका लागि प्रधानमन्त्री शेरबहादुर देउवालाई आफूले अनुरोध गर्ने जानकारी दिँदै उनले गृह मन्त्रालयका तर्फबाट गर्नुपर्ने पहलका लागि आफू तयार रहेको बताए ।

युएनएचसीआरका प्रतिनिधि अलेनले भुटानी शरणार्थीको समस्या समाधानका लागि युएनएचसीआर नेपाल सरकारसँग सहकार्य गरेर अगाडि बढ्न तयार रहेकोे बताए । उनले सन् २०१६ देखि पुनर्वासमा जान चाहने शरणार्थीको आवेदन लिन छाडिएको तथा सन् १९९५ देखि नै तिब्बती शरणार्थीको दर्ता प्रक्रिया स्थगन गरिएको जानकारी पनि दिए ।

नेपालमा रहेका शरणार्थीलाई कुनै खालको कागजात उपलब्ध गराउने सकिएमा राष्ट्रिय सुरक्षामा समेत सहयोगी हुने उनको भनाइ छ । उनले भने, “नेपाल र भुटान शरणार्थी समस्या समाधानमा लागिपर्ने विश्वास लिएको छु, हामी दुई देशबीचको वार्ताका लागि सहयोग गर्न तयार छौँ ।”

भुटानी शरणार्थी समस्याबारे राष्ट्र संघका महासचिवले पनि चासो व्यक्त गरेको उल्लेख गर्दै अलेनले विश्व खाद्य कार्यक्रमले शरणार्थीलाई उपलब्ध गराउँदै आएको खाद्य सहयोग घटाउँदै लगिएको जानकारी दिए ।