पु.समाचार

सञ्चारमन्त्री बस्नेतले टेलिकमका कर्मचारीलाई दिए यस्तो निर्देशन, जनतालाई प्रत्यक्ष लाभ हुने !

काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले नेपाल टेलिकमका कर्मचारीलाई संस्था र जनताको पक्षमा कसैको दबाबमा नपरी निःस्वार्थ भावनाले काम गर्न निर्देशन दिएका छन् ।

टेलिकमद्वारा यहाँ आज आयोजित अन्तरक्रियामा मन्त्री बस्नेतले जनतालाई प्रत्यक्ष लाभ हुने गरी अनुशासित ढंगबाट काम गर्न टेलिकमका केन्द्रीय र विभिन्न क्षेत्रका कर्मचारीलाई निर्देशन दिएका हुन् ।

सरकारका प्रवक्ता समेत रहेका मन्त्री बस्नेतले टेलिकमको ग्राहक संख्या, प्रचार÷प्रसार र आम्दानीमा वृद्धि गर्नुपर्नेमा जोड दिए । मन्त्री बस्नेतले सही मान्छेलाई सही ठाउँ दिनुका साथै गलत गर्नेलाई कारबाही र राम्रो गर्नेलाई पुरस्कारको व्यवस्था गर्ने बताए ।

विसं २०७४ जेठ मसान्तसम्ममा कम्पनीको टेलिफोन ग्राहक आधार एक करोड ७४ लाख ४२ हजार ९२२ रहेको छ । इन्टरनेट ग्राहक आधार २०७४ जेठसम्ममा ८३ लाख ९५ हजार पुगेको छ ।

कार्यक्रममा सञ्चार राज्यमन्त्री तप्तबहादुर विष्टले टेलिकममा देखिएका ढिलासुस्तीबाट फड्को मार्दै योजनाबद्ध ढंगबाट सेवा विस्तार गर्नुपर्नेमा जोड दिए । टेलिकमका अध्यक्ष तथा सञ्चार मन्त्रालयका सचिव महेन्द्रमान गुरूङले नेपाल टेलिकमको टावर नै नभएको गुनासो बढ्दै गएको हुँदा जतिसक्दो चाँडो त्यसको समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे ।

टेलिकमले उपभोक्ता वर्गको अपेक्षाअनुरूप दूरसञ्चार सेवा प्रदान गर्ने कार्यलाई प्राथमिकता दिन चालु आवमा विभिन्न कार्यक्रममार्फत आफ्नो सेवा विस्तारतर्फ १७ प्रतिशत ग्राहक थप गर्ने लक्ष्य लिएको छ । कम्पनीको सेवा विस्तार तथा गुणस्तर सुदृढीकरणका लागि करिब रु २२ अर्ब पूँजीगत लगानी गर्ने योजना रहेको टेलिकमको भनाइ छ ।

नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झाले जतिसक्दो चाँडो गाउँगाउँमा इन्टरनेट पुर्याउने उद्देश्यले प्राधिकरणले त्यस सम्वन्धी कामलाई तिब्रताका साथ अगाडि बढाएको जानकारी दिए ।

टेलिकमका प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले टेलिकमले अहिलेसम्म ग्राहकको माग अनुसार सेवा प्रदान गर्दै आएको र आगामी दिनमा समेत ग्राहकको चाहनाअनुसार अगाडि बढ्ने बताए ।

चालु आवमा टेलिकमको मुनाफा रु १५ अर्बभन्दा बढी हुने अपेक्षा गरिएको छ ।