देश

पार्किङस्थल नहुँदा फुङलिङ अस्तव्यस्त

ताप्लेजुङ । सदरमुकाममा पार्किङस्थल नहुँदा समस्या भएको छ ।

सदरमुकाम फुङलिङ भित्रको साँघूरो सडकलाई नै पार्किङस्थलको रुपमा प्रयोग गरिएपछि यहाँको बजार अस्तव्यस्त हुने गरेको छ ।

सडकमा नै अव्यवस्थित रुपमा सवारी साधन पार्किङ गर्दा सवारी साधन गुडाउन तथा पैदल यात्रुलाई समस्या भएको छ । दुर्घटनाको जोखिम समेत बढ्दै गएको छ । पार्किङस्थल नभएपछि सडकमा नै गाडी राख्नुको विकल्प नभएको व्यवसायीको भनाइ छ ।

बजार क्षेत्रका व्यवसायीलाई निकै सास्ती भएको छ । स्थानीय होटल व्यवसायी विमल भण्डारी पार्किङ नहुँदा होटलमा आउने अतिथिलाई समस्या हुने गरेको बताउँछन् । “गाडी लिएर आउँछन्, तर कता राख्ने भन्ने पिरलो हुन्छ,” उनले भने ।

सवारी साधनका टिकट काउण्टर आसपासका होटल व्यवसायी एवं व्यापारीको पसल छेकिने गरेको छ । नगरपालिका घोषणा भएको लामो समय वितिसक्दा र जनप्रतिनिधि आउँदा पनि पार्किङस्थल निर्माण नहुँनु दुःखद भएको स्थानीयवासी भुपेन गुरुङ बताउँछन् । दिनानु दिन बजार विस्तार हुँदै गएको र सवारी साधनको चाप बढ्दा समस्या चुलिँदै गएको उनको भनाइ छ ।

ताप्लेजुङमा वर्षेनी बाह्य तथा आन्तरिक पर्यटकको संख्या बढ्दै गएको छ । कञ्चनजंघा हिमाल, पाथीभरा मन्दिरलगायत पर्यटकिय तथा धार्मिकस्थलका कारण बर्सेनि साना तथा ठूला गरी एक सयभन्दा बढी सवारीसाधन चल्ने गरेका छन् । सबैलाई गाडी कता थन्क्याउने भन्ने चिन्ता हुन्छ ।

ट्राफिक प्रहरीलाई व्यवस्थापन गर्न समस्या भएको छ । ट्राफिक प्रहरी प्रमुख टंक न्यौपाने पार्किङस्थल नहुँदा नियम पालना गराउन गाह्रो भएको बताउँछन् ।

नगरपालिका प्रमुख छत्रपत्रि प्याकुरेलले पार्किङको समस्या चाँडै समाधान गरिने बताए । नगरपालिकाले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा बसपार्क व्यवस्थापनका लागि रु ३५ लाख छुट्याएको छ । बसपार्क निर्माण भइरहेको छ । अहिले तोक्मे डाँडालाई बसपार्कको रुपमा प्रयोग गरिँदै आएको छ ।