पु.समाचार

यसरी मतदान गर्न आतुर छन् प्रदेश नम्बर २ स्थीत धनुषावासी

(प्रकाश सिलवाल)

फूलगामा (धनुषा) । “पहिले किन चुनाव रोकियो थाहा भएन, हामी भोट हाल्न त्यसबेलै तयार थियौँ ।” यसो भन्नुहुने नगराइन नगरपालिका–४, बजारटोल निवासी रामशंकर ठाकुरलाई राम्रैसँग स्थानीय तहको निर्वाचन लागेको छ ।

सामान्य व्यवसायी भए पनि ठाकुरले बजार टोलमा निर्वाचन आउन लागेको र आफ्नो अधिकारका लागि भोट दिनुपर्छ भन्ने जनमत सिर्जना गर्दै आएका छन् । गत वैशााख ३१ मा मुलुकका पहिलो चरणको स्थानीय तहको निर्वाचन भएको थियो भने पटकपटक मिति सार्दै प्रदेश नं २ मा भने तेस्रो चरणमा आउँदो असोज २ गतेका लागि तय भएको छ ।

तराई मधेशमा आन्दोलनरत राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) ले संविधान संशोधन नभएसम्म निर्वाचन हुन नदिने र आफू पनि भाग नलिने चेतावनी दिएपछि निर्वाचनको मिति सरेको थियो ।

व्यवस्थापिका संसद्बाट संविधान संशोधनको प्रस्ताव असफल भए पनि राजपाका अन्य केही माग पूरा भएसँगै सो दलले निर्वाचनमा भाग लिने निर्णय गरेपछि चुनावी माहोल तातेको छ । आजै हुने मनोनयन दर्ताका लागि यहाँका अधिकांश दलले आफ्नो उम्मेदवारी सार्वजनिक गरिसकेका छन् ।

ठाकुरको विचारमा पञ्चायतकालदेखि यहाँ जसले जनताको विकासका लागि काम गरेको छ त्यसैले मत पाउँदै आएको जनाउँदै प्रमुख ठूला दलबीचमै प्रतिस्पर्धा देखिएको बताए । तर स्थानीयवासी भने कुन दललाई जिताउने हो भन्नेमा खुलिहाल्न चाहँदैनन् । “भोट हाल्ने हो, कुनमा हाल्ने भन्ने त मतपेटिकामा गएपछि थाहा हुन्छ ।” सोही टोलका शिवजी मण्डलले भने ।

धनौजी गाउँपालिका–५, बहुअर्वाका दिलीप ठाकुर मतदानको तयारीमा आफू रहेको तर दल र नेताको व्यवहारका कारण उनीहरुका बारेमा धेरै बोल्न मन नलाग्ने प्रतिक्रिया दिए ।

यहाँका अधिकांश विद्यालयमा मतदानका लागि बुथ राखिएकाले करिब एक साता अघिदेखि विद्यालय प्रभावित हुने भएकाले पनि निर्वाचनको थप लहर देखिएको छ । राष्ट्रिय आधारभूत मावि, देवडिहाका प्रधानाध्यापक प्रेमलाल पासवान स्थानीय पर्वमा समेत बिदा दिनुपर्ने स्थितिमा निर्वाचनजस्तो महत्वपूर्ण सन्दर्भमा बिदा नदिए पनि पठनपाठन सुचारु हुन नसक्ने बताउछन् ।

नेपाल पत्रकार महासंघ, धनुषाका पूर्व जिल्ला अध्यक्ष रामाशीष यादव ठूला दलहरुले नीति, सिद्धान्त छाडेर पैसा, जात र बाहुबली (शक्ति) का आधारमा उम्मेदवारी दिएकाले स्वतन्त्र, इमानदार र बुद्धिजीवीलाई निर्णय गर्न कठिन भएको टिप्पणी गरे ।

पहिलो चरणमा नभए पनि दोस्रो चरणमा प्रदेश नं २ मा पनि निर्वाचनमा हुनसक्ने स्थिति थियो भन्दै सामाजिक काममा सक्रिय उनले संविधान संशोधन नभए पनि राजपा निर्वाचनमा आएको अवस्थामा आखिर किन माग पूरा नगरी आयो त रु भन्ने प्रश्न कायमै रहेको बताए ।

“न उसको माग पूरा भयो, न पहिले चुनाव हुन सक्यो, अहिले पनि सिके राउतहरु मतपेटिका बाहिर मतदान गर्न भन्दैछन्, आखिर जनताले आफ्ना जनप्रतिनिधि छान्न ढिला मात्र भयो । अब चुनाव आएको छ, जनताले निर्णय दिने नै छ,” यादव भन्छन् । रासस