राजनीति

माहामन्त्रीलाई टिकट नदिएपछि श्रीबास्तवसहित सयौंद्वारा राजपाबाट राजीनामा, यसरी गरे फोरम लोकतान्त्रीक प्रवेश !

पर्सा। वीरगन्ज महानगरपालिकाका प्रमुख पदको टिकट पार्टीले नदिएपछि राष्ट्रिय जनता पार्टी नेपालका महामन्त्री एवं केन्द्रिय प्रवक्ता विमलप्रसाद श्रीवास्तवले पार्टी परित्याग गरेका छन् ।

वीरगन्जको कुम्हालटोस्थित निजी निवासमा आज अपराह्न्न विषेश भेला बोलाई नेता श्रीवास्तवले पार्टी परित्याग गरेको घोषणा गरेको हो ।

उनको आह्वान भएको भेलामा राजपाका केन्द्रीय सदस्य र जिल्ला अध्यक्षसहित पार्टीको विभिन्न पदमा रहेका सयौँ नेता कार्यकर्ताले राजपा परित्याग गरेको घोषणा गरेका छन् ।

भेलामा उपस्थित राजपा नेपालका केन्द्रीय सदस्य शशिकपुर मियाँ, पुरुषोत्मलाल झा, जनार्दन सिंह यादव, दीपक तिवारीलगायतले पार्टी परित्याग गरेको घोषणा गरेका छन् ।

भेलालाई सम्बोधन गर्दै नेता श्रीवास्तवले राजपा नेपालका केन्द्रीय नेतृत्वले नेता कार्यकर्ताको उचित मूल्यांकन नगरी तेस्रो चरणअन्तर्गत हुने स्थानीय तहको निर्वाचनका लागि टिकट वितरण गरेकाले पार्टी परित्याग गरेको दाबी गरे ।

उनले विजयकुमार गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरममा प्रवेश गरेका छन् । उनले सो पार्टीबाट आफूले वीरगन्ज महानगरपालिकाका प्रमुख पदमा उम्मेदवारी दिने जानकारी दिए ।

सो पदका लागि नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष गच्छदारसँग सहमति भएको बताउँदै नेता श्रीवास्तवले पर्साको ४७६ वटै पदका लागि बुधबार निर्वाचन कार्यालयमा उम्मेदवारी दर्ता गराउने जानकारी दिए ।