शिक्षा

जग्गा भाडामा दिएर शिक्षकलाई तलब

कञ्चनपुर । केराखेतीका लागि जग्गा भाडामा दिएर कञ्चनपुरको चाँनदेउमा रहेको रामेश्वर आधारभूत विद्यालयले तीनजना शिक्षकको तलब व्यहोर्दै आएको छ ।

प्रतिविगाहा रु दुई लाख रकम पाउने गरी जग्गा भाडामा दिएर विद्यालयले शिक्षकको तलबको व्यवस्था गर्दै आएको हो ।

विद्यालयको स्वामित्वमा रहेको चार बिगाहा जग्गा पाँच वर्षका लागि भाडामा दिइएको छ । “तीन वर्षअघिदेखि जग्गा भाडामा दिएर निजी स्रोतका तीनजना शिक्षकको तलबको व्यवस्था मिलाउँदै आएका छौँ”, विद्यालयका प्रधानाध्यापक रामप्रसाद जोशीले भने ।

अपुग तलबको रकम विद्यालयले व्यापारिक प्रयोजनका लागि बनाएका कोठा भाडामा दिएर पूर्ति गर्दै आएको छ । विद्यालयमा पाँच शिक्षक राहत कोटा र तीनजना निजी स्रोतमा कार्यरत रहेका छन् ।

विसं २०५५ मा स्थापना भएको विद्यालयमा स्थायी दरबन्दीका शिक्षकको व्यवस्थाका लागि विद्यालय व्यवस्थापन समितिले माग गर्दैै आए पनि बेवास्ता भएको छैन् ।