राजनीति

संसदमा विद्येयक पारित भएलगत्तै खुमबहादुरको यस्तो आक्रोस, उनलाई जोगाउन यसरी असफल भए प्रधानमन्त्री देउवा !

काठमाण्डौ । सोमबार संसदमा पारित भएको एउटा महत्वपूर्ण विद्येयकका कारण नेपाली राजनीतिक रंगमञ्चमा नयाँ तरंग ल्याइदिएको छ । अब भ्रष्टाचार, जबर्जस्ती करणी, मानव बेचबिखन तथा ओसारपसार,लागुऔषध बिक्रीवितरण तथा निकासी वा पैठारी, सम्पत्ति शुद्धीकरण सम्बन्धमा दोषी र राहदानी दुरुपयोग गर्नेले प्रतिनिधिसभा निर्वाचनमा सदस्य बन्न नपाउने भएका छन् ।

योसँगै नेपाली कांग्रेसलाई पनि ठूलै झड्का लागेको छ । भ्रष्टाचारको सजाय भोगेका नेताहरुले पनि उम्मेद्वार बन्न पाउनुपर्छ भन्ने माग गर्दै कांग्रेसका १९ जना सांसदले केही समयअघि संशोधन दर्ता गरेका थिए, तर सोमबार एकाएक सो संशोधन फिर्ता लिएर प्रदेश र प्रतिनिधिसभा निर्वाचन सम्बन्धी विद्येयक पारित भएपछि कांग्रेसभित्रका प्रभावशाली नेताहरु पार्टी नेतृत्वसँगै रुष्ट बनेका छन् ।

सोमबार सो विद्येयक पारित भएलगत्तै कांग्रेसका खुमबहादुर खड्का,चिरञ्जीवी वाग्ले लगायतका प्रभावशाली नेताहरुले पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवासँग फोन गरेर चर्को असन्तुष्टि र आक्रोस पोखेको श्रोतले बताएको छ । खड्का लगायतका नेताहरुले त्यसरी चर्को आक्रोस पोखेपछि प्रधानमन्त्री देउवा समेत नाजवाफ भएको बताइएको छ ।

वास्तवमा यो संशोधन प्रस्ताव खुमबहादुर खड्काकै योजनामा संसदमा दर्ता गरिएको थियो । तर त्यसलाई सोमबार बसेको संसदको राज्य व्यवस्था समितिको बैठकमार्फत कांग्रेसका सांसदहरुले फिर्ता लिएका थिए ।

त्यसलगत्तै संसदबाट विद्येयक पारित भएको थियो । केही समयदेखि रोकिएको यो विद्येयक पारित भएसँगै अब मंसिरमा हुने प्रदेश र संघीय संसदको निर्वाचनको तयारी तिव्र रुपमा अघि बढ्ने विश्वास गरिएको छ ।

यसरी असफल भयो प्रधानमन्त्री देउवाको प्रयास !
कांग्रेसभित्र नेता खुमबहादुर खड्का सभापति देउवाका अत्यन्तै नजिकका नेता मानिन्छन् । ६० को दशकमा तत्कालीन पार्टी सभापति स्व.गिरिजाप्रसाद कोइरालानिकट मानिने खड्काले भ्रष्टाचार गरेको आरोपमा जेल सजाय भोगेर बाहिर निस्कँदा नेपालको राष्ट्रिय राजनीतिक परिवेशमा निकै ठूलो उथलपुथल आइसकेको थियो । त्यतिबेलासम्म गिरिजाप्रसाद कोइरालाको निधन भैसकेको थियो भने कांग्रेस नेतृत्व सुशील कोइराला हुँदै शेरबहादुर देउवाको काँधमा पुग्ने क्रममा थियो ।

माओवादी द्धन्द्ध उत्कर्षमा पुगेका बेला निकै धेरै राजनीतिक उचाई लिएका खड्काले त्यसबेला प्रभावशाली गृहमन्त्रीको भूमिका समेत निर्वाह गरेका थिए ।

पार्टीभित्र निकै प्रभावशाली नेताका रुपमा रहेका खड्काबाट अघिल्ला पार्टी सभापति स्व.गिरिजाप्रसाद कोइरालादेखि वर्तमान सभापति शेरबहादुर देउवा समेत निकै प्रभावित भएका बताइन्छ । उनकै सहयोगमा शेरबहादुर देउवा पार्टी सभापति बनेका थिए । अहिले त्यही गुण तिर्ने तरखरमा रहेका देउवा अन्ततः असफल भएका छन् ।

खड्का मात्र होइन चिरञ्जीवी वाग्ले, जेपी गुप्ता लगायतका नेताहरुको समेत राजनीतिक भविष्य जोगाउन प्रधानमन्त्री देउवा असफल भए । खुमबहादुरको योजनामा ल्याईएको संशोधन प्रस्तावमा पार्टीभित्रै रामचन्द्र पौडेल, विमलेन्द्र निधि लगायतका पार्टीका बरिष्ठ नेताहरुले चर्को रुपमा विरोध गरेका थिए ।

त्यतिमात्रै होइन मंसिरमा प्रदेश र संघीय संसदको निर्वाचन तोकिसक्दा पनि निर्वाचनसँग जोडिएको विद्येयक पारित नहुँदा सञ्चारमाध्यामहरुको समेत चासो बढ्यो र त्यसैमा केन्द्रीत रहेर समाचारहरु प्रसारण हुन थाले । त्यसैले प्रधानमन्त्री देउवाले यी चौतर्फी दबाबलाई थेग्न सकेनन् ।

कांग्रेस सांसदहरुले दर्ता गरेको उक्त संशोधनमा भ्रष्टाचारमा अयोग्य ठहरिएर सजाय पाएका नेता वा व्यक्तिहरुले तीन वर्ष पुगेपछि चुनावमा उम्मेद्वार हुन पाउनुपर्ने व्यवस्थासहितको माग गरिएको थियो तर उक्त विद्येयकलाई जोगाउन नसक्दा कांग्रेसका प्रभावशाली नेताहरु खड्का,वाग्ले र गुप्ता लगायतका नेताहरुको राजनीतिक भविष्य समेत सकिएको छ ।

उनीहरु भ्रष्टाचारको आरोपमा सजाय भोगिसकेका नेताहरु हुन् । जसका कारण चुनावको मुखमा नेपाली कांग्रेसलाई एउटा ठूलै झड्का समेत लागेको छ ।