कृषि

धानबालीमा रोगको प्रकोप देखिएपछि दाङका किसान चिन्तित

दाङ । एक महिना पहिले रोपेको धानमा विभिन्न रोगको प्रकोप देखिन थालेपछि यहाँका किसान चिन्तित बनेका छन् । रोपेर गोड्ने समयमा धानमा पातमरुवा, गवारो, खैरारोग, बलाष्टलगायतका रोग देखिन थालेपछि किसान चिन्तित बनेका हुन् । यस वर्ष अनुकूल मौसम परेकाले समयमै धान रोप्न पाएपछि किसान हर्षित बनेका थिए ।

उत्पादन बढ्नेमा ढुक्क बनेका किसान एकाएक रोगको प्रकोप देखिन थालेपछि अहिले चिन्तित बनेका छन् । “समयमै वर्षात् भएका कारण यस वर्ष रोपाइँ सकेका थियौँ,” स्थानीय किसान यमबहादुर केसीले भने “यस वर्ष धान उत्पादन बढ्ने भो भनेर खुशी भएका थियौँ । तर विभिन्न रोगको प्रकोप देखिएपछि चिन्तित भएका छौँ ।”

धानको बोट बोकेर तुलसीपुरको एग्री नेपाल प्रालिमा आएकी कटकुयाँकी लक्ष्मी चौधरीले भनिन्– “रोपाइँ सकेको केही हप्ता बित्न नपाउँदै धानमा रोग देखा परेको छ । खेतमा धानको बोट सुकेका छन् ।” उनीजस्तै तुलसीपुर उपमहानगरपालिका तथा जिल्लाका अन्य ठाउँमा धानखेतीमा विभिन्न रोग देखा पर्न थालेका छन् ।

“दैनिक १०/१२ जना किसान धानमा रोग लागेको भन्दै बोट बोकेर आउने गरेका छन्,” कृषि प्राविधिक माधव केसीले भने । धेरैजसो बाढीग्रस्त क्षेत्रमा समस्या देखिएको छ । बीउबिजन गुणस्तरीय नहुँदा बर्षेनी समस्या हुने गरेको छ । प्राविधिक केसीले बलाष्ट अर्थात् पातमरुवा रोगको लागि हेकजा कोनाजोल, गवारोको लागि कोलोरो पाइरिफस नामक विषादी प्रयोग गर्न किसानलाई सुझाव दिए ।

रोगको पहिचान गरी किसानलाई विषादी प्रयोग गर्न सुझाव दिएको र रोग नियन्त्रण हुने जिल्ला कृषि विकास कार्यालयका बाली संरक्षण अधिकृत पिताम्बर बस्नेतको भनाइ छ । उनले रोग हेरेर मात्र विषादीको प्रयोग गर्न सुझाव दिए । धान उत्पादनमा पाँचदेखि दश प्रतिशतसम्म गिरावट आउन सक्ने उनको भनाइ छ । हाल जिल्लाका घोराही, तुलसीपुर, लमही क्षेत्रमा रोगको समस्या देखापरेको छ ।