राजनीति

काँग्रेसलाई अरु पार्टीभन्दा मजबुत तुल्याउनमा पूर्व अर्थमन्त्री डा महतको यस्तो ध्यान

इटहरी । नेपाली काँग्रेसका नेता तथा पूर्व अर्थमन्त्री डा रामशरण महतले पार्टीभित्र धेरै मतान्तरका विषय झाँगिदै गए पनि त्यसलाई भरसक पार्टीभित्रै बृहत् बहस र संवाद गरेर मिलाउने विषयमा आफू सधैँ सक्रिय रहँदै आएको बताएका छन् ।

डा महतले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा स्थानीय सञ्चारकर्मीले वर्तमान अवस्थामा पार्टीभित्र देखिएको तिक्तताका सम्बन्धी जिज्ञाशामा उनले यस्तो टिप्पणी गरेका हुन् ।

विधिको शासन हुनुपर्छ भन्नेमा आफूले अडान राख्दै आएको स्पष्ट पार्दै उनले पार्टीलाई विधान बमोजिम चलाउने विषयमा नेतृत्व तहले जिम्मेवार भएर बहस चलाउन जरुरी रहेको र नेपाली काँग्रेस पार्टीलाई अरु पार्टीभन्दा मजबुत तुल्याउन नेतृत्व तह संवेदनशील हुनुपर्नेमा पनि जोड दिए ।

पूर्व अर्थमन्त्री डा महतले प्रदेश नं २ मा हुन लागेको निर्वाचनमा पार्टीको केन्द्रीय तहबाट तालमेल नहुने स्पष्ट पार्दै स्थानीय तहमा देखिएको आवश्यकताले अन्य राजनीतिक दलसँग तालमेल भएको अवस्थामा केन्द्रले त्यसलाई सहमति दिने पनि स्पष्ट पारे ।

काँग्रेसलाई देशको पहिलो पार्टी बनाउनका लागि नेतृत्वले गुट उपगुट वा तेरो र मेरो भन्ने भावनालाई त्यागेर पार्टीको मान्छे भन्ने भावनाको विकास गर्न जरुरी रहेकामा जोड दिँदै उनले पार्टी सक्षम बन्यो भनेमात्र देशको विकासले गति लिने पनि आफ्नो अवधारणा रहेको बताए ।

डा महतले बाढीले क्षतिग्रस्त बनेको र घरबासविहीन बन्न पुगेका पीडितको पक्षमा काँग्रेसले राहतसँगै उनीहरुको बचाउका लागि सक्दो सहयोग गर्दै आएको र भविष्यमा पनि सहयोगको निरन्तरता रहने जानकारी दिँदै प्रभावित क्षेत्रको पूर्वाधार विकासमा विस्तृत योजना बनाएर काम गर्नका लागि ध्यान दिन जरुरी छ भने ।