देश

नेपाली सेनाले अगाडी बढायो अर्को कदम, बाढीले भत्काएका संरचनाको पुनःनिर्माण शुरु

सप्तरी । हालैको बाढीले भत्काएका संरचनाको मर्मत र पुनःनिर्माण कार्यलाई नेपाली सेनाले तीव्र बनाएको छ ।

बाढीले जिल्लाको विभिन्न स्थानमा तटबन्ध, पुल, कल्भर्ट, सडक, विद्यालय लगायतका ७५ वटा संरचनामा क्षति पुर्याएपछि सरकारबाट पुनःनिर्माणको जिम्मा पाएको नेपाली सेनाले मर्मत र पुनःनिर्माण कार्यलाई तीव्र बनाएको हो । बाढीले जिल्लाको छ विद्यालय, पाँच वटा तटबन्ध, चार वटा पुल तथा दुई दर्जन कल्भर्ट र सडक खण्ड लगायतका संरचनामा क्षति पुर्याएको थियो । त्यसबाट स्थानीयको दैनिकी कष्टकर हुनुका साथै नजिकिँदै गरेको स्थानीय तहको तेस्रो चरणको निर्वाचनसमेत प्रभावित हुने अवस्था आएको थियो । तर सेनाले जिम्मा पाएलगत्तै मर्मत र पुनःनिर्माण कार्य तीव्र गतिमा अघि बढेपछि स्थानीयले खुशी व्यक्त गरेका छन् ।

गत भदौ १२ गतेदेखि भीमदल गण तथा ओखलढुंगा, खोटाङ, पाँचथर र उदयपुरबाट समेत झिकाइएको सेनाको इञ्जिनियर तथा टास्क फोर्ससहितको करिब २०० जनाको टोली अहिले बाढीले भत्काएको संरचनामा मर्मत र पुनःनिर्माण कार्यमा दिनरात खटिरहेको पुनःनिर्माण कार्यका संयोजकसमेत रहेका सहायक रथी १८ नं का बाहिनीपति भरत पाठकले बताए ।

शनिबार पुनःनिर्माण कार्यको स्थलगत निरीक्षण र अनुगमनका क्रममा पुगेका सञ्चारकर्मीसँग कुरा गर्दै उनले स्थानीय तहको तेस्रो चरणको निर्वाचन हुने असोज २ गतेभन्दा पहिले नै बाढीले भत्काएका सबै संरचनाको मर्मत र पुनःनिर्माण गरिसक्ने बताए ।