राजनीति

कांग्रेसभित्र खुमबहादुर खड्का थप शक्तिशाली भएपछि, देखियो कसैले नसोचेको यस्तो परिदृष्य !

काठमाण्डौ । नेपाली कांग्रेसभित्र पछिल्लो समयमा एउटा महत्वपूर्ण एजेण्डामा चर्को बहस भैरहेको छ । सो पार्टीभित्र शक्तिशाली धारको नेतृत्व गरिरहेका रामचन्द्र पौडेल पक्षधर नेताहरुले यो विषयमा निकै कडा अडान लिइरहेका छन् ।

पार्टीभित्र भ्रष्टाचामा सजाय पाएका नेताहरुले पनि आगामी चुनावमा उम्मेद्वार बन्न पाउनेकि नपाउने ? भन्ने प्रश्नमा पौडेल पक्षीय समुहले यो एजेण्डा पास हुन नहुने अडान लिएका हुन् । केही समयअघि कांग्रेसका १९ सांसदले यो एजेण्डाको पक्षमा संसदमा संशोधन प्रस्ताव समेत दर्ता गराएका थिए ।

अहिले यही एजेण्डामा कांग्रेसभित्र चर्को विवाद चर्किरहेको छ । रामचन्द्र पौडल पक्षले संशोधन प्रस्तावको पक्षमा पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवानै उभिएको आरोप लगाउँदै अब एकपटक प्रधानमन्त्री देउवाकै ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।

आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको सो पार्टीको केन्द्रीय समिति बैठकमा यो एजेण्डाले विशेष प्राथमिकता पाएको थियो । यही एजेण्डामा पछिल्ला बैठकहरु केन्द्रीत भएपछि कांग्रेसले अन्य एजेण्डा पास गर्न सकेको छैन, जसमा चुनावी उम्मेद्वार घोषणादेखि सबै खालका निर्णयहरु थाँती रहेका छन् ।

केही समयअघि कांग्रेस सांसदहरु राधेश्याम अधिकारी,शंकर भण्डारी,आनन्द ढुंगाना, इश्वरी न्यौपाने, चम्पादेवी खड्का, राजु थापा लगायतले भ्रष्टाचार मुद्धामा सजाय भोगिसकेका नेताले पनि उम्मेद्धार उठ्न पाउनुपर्ने विषय उठान गर्दै संशोधन प्रस्ताव दर्ता गरेका थिए । जुन एजेण्डा अहिले संसदमा विचाराधीन रहेको छ । संशोधन प्रस्ताव कुनै पनि हालतमा पास हुनुहुँदैन भन्ने पक्षमा पौडेल पक्ष देखिएको छ ।
यसरी उठ्यो एजेण्डा ?
वास्तवमा भ्रष्टाचार मुद्धामा सजाय पाएका नेताहरुले पनि चुनावमा उम्मेद्वार हुन पाउनुपर्छ भन्ने एजेण्डालाई स्थापित गर्ने उद्धेश्यका साथ संशोधन प्रस्ताव दर्ता गर्ने कांग्रेस सांसदहरु सबै नेता खुमबहादुर खड्का पक्षधर हुन् ।

उनीहरुले यो कदम उनकै योजनामा उठाएको कुरा बाहिर आइरहेको छ । खुमबहादुर खड्का नेपाली कांग्रेसभित्रका प्रभावशाली नेताभित्र पर्दछन् । उनको योजनामा यो प्रस्ताव अघि आएपछि प्रधानमन्त्री देउवाले समेत कुरा काट्न नसकेको कांग्रेसनिकट श्रोतले बताएको छ ।

पार्टी सभापति समेत रहेका प्रधानमन्त्री देउवाले किन पनि खड्काको कुरा काट्न सकेका छैनन् भने पार्टीभित्रका पदाधिकारीहरु चयनको विषयमा समेत खड्काले उनलाई प्रभावित पारिरहेका छन् ।

१३ औं महाधिवेशनबाट पार्टी केन्द्रीय सदस्य निर्वाचित भएका खुमबहादुर खड्काले पदाधिकारीको विषयमा समेत औंलो ठड्याउँदै आएका छन्, जसका कारण सभापति एवम् प्रधानमन्त्री देउवाले अहिलेसम्म पार्टीभित्र पदाधिकारी घोषणा गर्न सकेका छैनन् ।

त्यसकारण पनि उनले यसबेला खुमबहादुर खड्काको योजनामा अघि सारिएको संशोधन प्रस्तावको पक्षमा समर्थन गरेको बताइएको छ । प्रधानमन्त्री देउवानै खड्को प्रस्तावको पक्षमा उभिएपछि पौडेल पक्षले कडा आपत्ति जनाइरहेको छ ।

चुनावको मुखमा यो एजेण्डा उठ्नु दूर्भाग्यपूर्ण रहेको बताउँदै पौडेल पक्षले यो एजेण्डालाई जसरी पनि फेल गराउने रणनीति अख्तियार गरिरहेको श्रोतको दाबी छ ।

देउवा संकटमा, पौडेल पक्षको माग जायज !
वास्तवमा कांग्रेसभित्र निष्ठा र त्यागको राजनीतिक अभियान चलाउने धार र भ्रष्ट र राजनीतिक नैतिकता समेत गुमाइसकेको अर्को धारबीच निकै लामो समयदेखि प्रतिस्पर्धा चलिरहेको देखिन्छ ।

अहिले पनि यी दुई धारबीच लडाई चलिरहेको सोही पार्टी निकट तल्लो तहका नेता–कार्यकर्ताहरु बताउँछन् । त्यसैले अहिले सो पार्टीमा पौडेल पक्ष मात्र होइन, कोइराला, सिटौलाहरुको समुहले समेत त्याग र निष्ठाको राजनीतिक यात्रा तय गर्नुपर्छ भन्ने अभियान सुरु गर्न खोजिरहेका छन् । उता, खुमबहादुर खड्का लगायतका समुहहरुलाई निष्ठा र त्यागभन्दा पनि अर्को दृष्टिकोणबाट हेर्ने गरिएको छ ।

त्यसकारण पनि सो पार्टीभित्र उठेको पछिल्लो एजेण्डा पौडेल पक्षले राजनीतिभित्र फैलिन लागेको भ्रष्टीकरण प्रवृत्तिलाई रोक्ने अभियानको सुरुवात गरेको रुपमा अधिकांश नेता–कार्यकर्ताहरुले हेरेका छन् ।

जुन अभियानलाई धेरैले ठिक मानेका छन् । यद्यपि, खुमबहादुर खड्का पक्षले पनि आफ्नो एजेण्डालाई सही मानिरहेको छ । यसरी दुई पक्षबीचको विवाद उत्कर्षमा पुग्ने भएपछि पार्टी सभापति एवम् प्रधानमन्त्री देउवा संकटमा फस्ने संकेत देखिएको छ ।

प्रम देउवाले खुमबहादुर पक्षलाई साथ दिने संकेत दिएपनि पौडेल पक्ष त्यसको विरोधमा उत्रिएपछि यो एजेण्डा पास हुन निकै ठुलो कसरत गर्नुपर्ने देखिएको छ, जसका कारण प्रधानमन्त्रीका लागि समेत यो एजेण्डा फलामको चिउरा चपाएसरह हुने देखिएको छ ।