पर्यटन/संस्कृति

मिस टुरिजमको दोस्रो संस्करण कात्तिक १८ गते

काठमाडौँ। मिस टुरिजमको दोस्रो संस्करण आगामी कात्तिक १८ गते आयोजना हुने भएको छ । प्वाइन्ट मिडिया प्रा.लि.ले गतवर्ष झैँ यसवर्ष पनि प्रतियोगिता गर्न लागेको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले ‘मिस टुरिजम–२०१७’ आयोजना गर्न लागिएको प्वाईन्ट मिडियाका प्रबन्ध निर्देशक नवीन काफ्लेले बताए ।

यसपटक “मिस टुरिजम–२०१७” मा सहभागी हुन चाहनेहरुका लागि भोलि सोमबारदेखि असोज ६ गतेसम्म देशभर आवेदन खुल्ला गरिएको आयोजकले जनाएका छन् । प्रतियोगिताका लागि १८ देखि २५ वर्ष उमेर समूहका अविवाहित नेपाली महिलाहरुले आवेदन दिन पाउनेछन् ।

यो कार्यक्रमले पर्यटन क्षेत्रमा युवा र महिला सहभागिता वृद्धि, महिला सशक्तीकरण र नेपाली नारीहरुलाई नयाँ अवसरहरुको सिर्जना गर्नुका साथै नेपालका पर्यटकीय गन्तव्यहरुको प्रवद्र्धन, आन्तरिक पर्यटकहरुको वृद्धि गर्दै नेपाललाई अन्तर्राष्ट्रिय क्षेत्रमा समेत प्रवद्र्धन गर्ने आयोजकको अपेक्षा छ ।

मिस टुरिजम–२०१७ लाई नगद रु ५० हजार, नेपालका स्थापित संस्था र उत्पादनको विज्ञापन खेल्ने अवसर तथा विभिन्न संस्थाका ब्राण्ड एम्बेसडर पनि नियुक्त गरिने जनाइएको छ ।

त्यस्तै, मिस टुरिजम फस्ट रनर अप लाई नगद रु ३० हजार र मिस टुरिजम सेकेण्ड रनर अप लाई नगद रु २० हजार प्रदान गर्नुका साथै पर्यटन क्षेत्रमा अन्य अवसरहरु पनि प्रदान गरिने आयोजकले जनाएका छन् ।

पत्रकार सम्मेलनमा नेपाल पर्यटन वोर्डका सञ्चालक समिति सदस्य राजेन्द्रप्रसाद सापकोटाले मिस टुरिजम नेपालको समग्र पर्यटन क्षेत्रको एउटा उत्पादन भएको वताउँदै प्रतियोगितालाई गुणस्तरीय र प्रभावकारी बनाइनुपर्नेमा जोड दिए ।

नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य रामशरण थपलियाले मिस टुरिजमलाई सफल पार्न नेपाल उद्योग वाणिज्य महासंघ सहयोग गर्न तयार रहेको वताउँदै प्रतियोगितालाई गुणात्मक बनाइनुपर्ने खाँचो औँल्याउनुभयो ।

ट्रेकिङ एजेन्सिज एशोशिएसन अफ नेपाल (टान) का अध्यक्ष चन्द्रप्रसाद रिजालले मिस टुरिजममा रुप र ज्ञान दुवैमा योग्य व्यक्ति छनौट हुनुपर्ने वताए ।

टानका पूर्व अध्यक्ष दीपक महतले मिस टुरिजमको भूमिकालाई फराकिलो बनाउन समग्र पर्यटन क्षेत्र लाग्नुपर्ने वताए ।

नेपाल योग एशोशियसनका अध्यक्ष मोहन लम्साल, पर्यटन व्यवसायी राजन सिंखडालगायतले मिस टुरिजम पर्यटन क्षेत्रकै नयाँ प्रोडक्ट रहेको वताउँदै यसलाई अन्तर्राष्ट्रियस्तरमा पनि लैजानुपर्ने बताए ।

राष्ट्रिय पर्यटन पत्रकार संघका अध्यक्ष शिव अधिकारीले मिस टुरिजम पर्यटन क्षेत्रकै नयाँ प्रडक्ट भएकोले यसलाई सफल पार्न समग्र सबैको सहयोग चाहिने बताए । कार्यक्रममा मिस टुरिजम–२०१६ को उपाधी प्राप्त ओरुषा थापाले आफ्नो अनुभव सुनाउँदै सामाजिक कार्यमा सहभागीता जनाउँदा जिम्मेवारी महशुस भएको बताए ।