विशेष

सरकारले तोकेको भन्दा बढी रकम लिने म्यानपावर दलाललाई पक्राउ गर्ने श्रम बिभागलाई बधाई !

काठमाडौँ । वैदेशिक रोजगारीमा जाने कामदारसँग तोकिएको भन्दा बढी रकम असुल्ने कार्यमा संलग्न सिनामंगलस्थित सिद्ध ग्लोबल मेनपावरका एक कर्मचारी रंगेहात पक्राउ परेका छन् ।

मलेसिया जाने दुईजना कामदारसँग रु एक लाख ६० हजार लिइरहेको अवस्थामा वैदेशिक रोजगार विभागको टोलीले आज उक्त मेनपावरका कर्मचारी भीष्म अधिकारीलाई पक्राउ गरेको हो ।

आफूहरुसँग बढी रकम माग गरिएको भन्दै पीडितले विभागमा उजुरी दिएपछि गोप्यरुपमा अनुगमनमा गएको विभागको टोलीले सो रकम लिँदै गरेको अस्थामा अधिकारीलाई पक्राउ गरेको विभागका प्रवक्ता मोहन अधिकारीले जानकारी दिए। पक्राउ परेकालाई विभागले हिरासतमा राखेर अनुसन्धान गरिएको उनले बताए । सो मेनपावरका सञ्चालक शंकरप्रसाद आचार्यको पनि खोजी भइरहेको विभागले जनाएको छ ।

विसं २०७२ असार २१ गतेदेखि मलेसिया र खाडीका राष्ट्रहरु कतार, बहराइन, साउदी अरब, संयुक्त अरब इमिरेट्स (युएई), ओमन र कुबेतमा रोजगारीमा जाने नेपाली कामदारबाट मेनपावरले बढीमा रु १० हजारमात्रै सेवाशुल्क लिन पाउने व्यवस्था सरकारले गरेको छ ।

सो व्यवस्था रहेपनि अधिकांश मेनपावरले तोकिएको भन्दा बढी रकम कामदारबाट असुल्दै आइरहेका छन् ।