सूचना प्रविधि

नेपाल टेलिकमद्वारा निशुल्क स्वास्थ्य शिविर साथै सिम बितरण

नेपाल टेलिकमले हालै गएको भीषण बाढीबाट अति प्रभावित पूर्वाञ्चलका दुई जिल्लामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरी औषधि र सेवा उपलब्ध गराएको छ । कम्पनीले महोत्तरीको लोहारपट्टीमा गत भाद्र १२ गते र सप्तरीको भेडियामठमा भाद्र १४ गते शिविर सञ्चालन गरेको थियो ।
गत भाद्र १२ गते महोत्तरीको लोहारपट्टीमा नेपाल टेलिकमका प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले सेवाग्राहीलाई औषधि वितरण गरेर निःशुल्क स्वास्थ्य शिविरको शुभारम्भ गरेका थिए । सो अवसरमा प्रबन्ध निर्देशक राजभण्डारीले बाढी प्रभावित नागरिकहरुलाई केही राहत पुगोस् भन्ने उद्देश्यले कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रभावित क्षेत्रमा नै आएर निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको बताए । उनले विगतमा पनि कम्पनीले भूकम्प, बाढी लगायत प्राकृतिक प्रकोपका कारण प्रभावित भएका नागरिकहरुको हितका लागि यथासक्य सहयोग गर्दै आएको र भविष्यमा पनि यस किसिमको सहयोग गर्न कम्पनी प्रतिबद्ध रहेको बताए ।

निःशुल्क स्वास्थ्य शिविर शुभारम्भका अवसरमा नेपाल टेलिकमका प्रमुख वित्तीय अधिकृत सूर्यभक्त पोखरेल, वीरगञ्ज क्षेत्रीय निर्देशनालयका निर्देशक प्रमोद कुमार परमार र अन्य बरिष्ठ अधिकृतहरुको समेत उपस्थिति रहेको थियो ।
सो निःशुल्क स्वास्थ्य शिविरमार्फत महोत्तरीको लोहारपट्टीमा ७ सय ३२ र सप्तरीको भेडियामठमा ४ सय २३ जनाले निःशुल्क स्वास्थ्य परीक्षण सेवा र निःशुल्क औषधि प्राप्त गरे । सो निःशुल्क स्वास्थ्य शिविरमा बाढी प्रभावित क्षेत्रका महिला, बालबालिका तथा वृद्धवृद्धाका साथै अन्य नागरिकहरु सेवा प्राप्त गरी लाभान्वित भएका छन् । उक्त निःशुल्क स्वास्थ्य शिविरमा चिकित्सक तथा स्वास्थ्यकर्मी गरी १३ जनाको टोलीले सेवा उपलब्ध गराएका थिए ।

यसका साथै सञ्चार सुविधामा सहज होस भन्ने उद्देश्यले कम्पनीले जीएसएम प्रिपेड मोवाइलको सिमकार्ड निःशुल्क वितरण गरेको थियो । नेपाल टेलिकमले बाढी प्रभावित २३ वटा जिल्लाहरुमा गत भाद्र १२ गतेदेखि जीएसएम प्रिपेड सिम निःशुल्क वितरण गरिरहेको छ । यसमा रु. ५०।– को टक भ्यालु (Talk Value) छ भने सिम कार्डबाट कम्पनीको नेटवर्कभित्र (On-Net) थप ५० मिनेट बराबरको निःशुल्क कल गर्ने सुविधा समेत रहेको छ ।
कम्पनीले बाढी प्रभावित झापा, मोरङ, सुनसरी, उदयपुर, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, मकवानपुर, सिन्धुली, चितवन, नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, वाँके, वर्दिया, कैलाली र कञ्चनपुर जिल्लामा यो सुविधा उपलब्ध गराइरहेको छ । त्यसैगरी हराएको वा बिग्रेको प्रिपेडरपोष्टपेड सिमकार्डको सट्टामा अर्को सिमकार्ड पनि निःशुल्क उपलब्ध गराइने छ । यो सुविधा आगामी भाद्र २६ गतेसम्म उपलब्ध हुनेछ ।