राजनीति

मुलुकको अर्थतन्त्रमा सकारात्मक सूचक : अर्थमन्त्री कार्की

काठमाडौँ । अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मुलुकको अर्थतन्त्रमा सकारात्मक सूचक देखिन थालेकाले सबै क्षेत्रबाटसहयोग एवं लगानीका क्षेत्रमा क्रियाशील हुन आग्रह गरेका छन् ।

उनले भने, “अर्थतन्त्र चुनौती र अवसरको दोसाँधमा छ । त्यसलाई कसरी सबल बनाउन सकिन्छ भन्नेमा हामी चिन्तनशील छौँ । उद्योग व्यवसायी एवं सञ्चार क्षेत्रले दिगो अर्थतन्त्रको विकासका लागि सहयोग गर्नु जरुरी छ ।”

नेपाल आर्थिक पत्रकार समाज(सेजनको)को १८ औँ वार्षिक साधारणसभा तथा निर्वाचन कार्यक्रमलाई आज यहाँ सम्बोधन गर्दै उनले मुलुकलाई संवृद्धिको दिशामा अगाडि बढाउन सरकार क्रियाशील रहेको र अर्थतन्त्रको दायरासमेत फराकिलो हुँदै गएकाले थप लगानी गर्नु सहज हुनेमा जोड दिए ।

लगानी भित्र्याउन र त्यसलाई सहीरूपले परिचालन गर्न जरुरी रहेको चर्चा गर्दै उनले भने, “शहरी र ग्रामीण क्षेत्रमा आर्थिक गतिविधि बढाउनु जरुरी छ । त्यसले आर्थिक विकास मात्रै नभइ रोजगारीका अवसर समेत सिर्जना गर्दछ ।”

संविधान कार्यान्वयनको प्रक्रिया अगाडि बढेको छ भन्दै उनले प्रदेश र संघको निर्वाचनपछि मुलुक पूर्णरुपमा राजनीतिक स्थिरताको चरणमा प्रवेश गर्ने र आर्थिक संवृृद्धिका मार्गसमेत प्रशस्त हुने उल्लेख गरे ।

नेपाल राष्ट्र बैंकका गर्भनर डा चिरञ्जीवी नेपालले २३ वर्षयता मुलुकको आर्थिक वृद्धिदर ६.९ प्रतिशत रहेको र १३ वर्षपछि मुद्रास्फिति दर समेत चार प्रतिशतको हाराहारीमा रहेकाले आर्थिक क्षेत्र थप सवल बन्दै गएको तथा लगानीका वातावरण समेत बनेको छ भने ।

उनले बैंक तथा वित्तीय संस्था ऐन र राष्ट्र बैंक ऐन निर्माणका क्रममा आर्थिक क्षेत्रमा कलम चलाउँदै आएका पत्रकारको ठूलो सहयोग रहेको र त्यसले आफूहरुलाई काम गर्न समेत सहयोग पुर्याएको चर्चा गरे ।

बैंक तथा वित्तीय संस्थाको क्षमतामा समेत बढोत्तरी भएको उल्लेख गर्दै उनले ८० प्रतिशत भन्दा बढी भू–भागमा वित्तीय संस्थाको पहुँच पुगेको र बाँकी रहेको २० प्रतिशत क्षेत्रमा समेत छिट्टै विस्तार गर्ने नीति रहेको बताए ।

बैंक तथा वित्तीय संस्थाको विस्तारले नै आर्थिक गतिविधि बढाउन सहयोग पुर्याएको छ भन्दै मुलुकको समग्र आर्थिक विकासमा उद्योग व्यवसायी, सरकार र सञ्चार क्षेत्रको सहकार्य जरुरी रहेको स्पष्ट पारे ।

लगानीको वातावरण बनेकोमा निजी क्षेत्र खुसी

कार्यक्रममा सहभागी निजी क्षेत्रका प्रतिनिधिले संविधान कार्यान्यवको प्रक्रियासँगै मुलुकमा लगानीको वातावरण बनेकामा खुसी व्यक्त गर्दै दीर्घकालीन सुधारका लागि सबैको साथ र सहयोग जरुरी रहेको आवश्यता औल्याए ।

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्र ढकालले सरकारको सकारात्मक पहलपछि मुलुकमा आर्थिक क्षेत्रको विस्तार भएको, लगानीको वातावरण बनेको र रोजगारीका थप अवसर सिर्जना भएको भन्दै खुसी व्यक्त गरे ।

सरकार, निजी क्षेत्र र सञ्चार जगतको सहकार्यले नै मुलुकमा आन्तरिक ताथ बाह्य लगानी भित्र्याउन सहयोग पुग्ने उनको कथन थियो । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले आर्थिक गतिविधि बढ्दै गएको र निरन्तर विद्युत् आपूर्तिले उद्योग व्यवसायीलाई लगानीका लागि अभिप्रेरित गरेको उल्लेख गरे । उनले आर्थिक पत्रकारसँग सहकार्य गरेर जान तयार रहेको बताए ।

नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले आर्थिक क्षेत्रको विकास र विस्तारमा आफूहरु सबैसँग सहकार्य गरेर अगाडि जान तयार रहेको बताए ।

नयाँ कार्यसमितिका लागि चुनावी प्रक्रिया शुरु

नेपाल पत्रकार महासंघका पूर्व सभापति डा सुरेश आचार्य संयोजत्व रहेको निर्वाचन समितिले सेजनको नयाँ कार्यसमितिका लागि चुनावी प्रक्रिया शुरु भएको जनाएको छ ।

नयाँ कार्यसमितिको अध्यक्षमा पुष्पराज आचार्य र मोदनाथ ढकालले उम्मेदवारी दिएका छन् । यस्तै उपाध्यक्षमा रामराजा श्रेष्ठ र प्रभात भट्टराई, महासचिवमा भीम गौतम, अनुजराज ढुंगेल र जनार्दन बराल प्रतिस्पर्धामा उत्रिएका छन् । यस्तै सचिवमा सुजन ओली र नवीन अर्याल, कोषाध्यक्षमा सरस्वती ढकाल र भागवत भट्टराईले उम्मेदवारी दिएका छन् ।

निर्वाचन कार्यक्रम दिउँसो १ बजेदेखि शुरु हुने र साँझसम्म परिणाम आउने निर्वाचन समितिले जनाएको छ ।