राजनीति

मन्त्री र सचिवको अनुपस्थिति, आचारसंहिता छल्न रातारात २५० भन्दा बढी कर्मचारी सरुवा !

काठमाण्डौ । सामान्य प्रशासन मन्त्रालयले बुधबार मध्यराति दुई सय ५० भन्दा बढी कर्मचारी नियमविपरीत एकतर्फी रूपमा सरुवा गरेपछि, आधिकारिक ट्रेड युनियनलगायत कर्मचारीसम्बद्ध विभिन्न संगठन विरोधमा उत्रिएर तनाव बढेको छ ।
निर्वाचन आयोगले बिहीबारदेखि आचारसंहिता लागू गर्ने घोषणा गरेपछि मन्त्रालयले रातारात कर्मचारी सरुवा गरेको थियो भने दिनभर मन्त्रालयमा सुरक्षाको निम्ती प्रहरी खटेका थिए ।

राजपत्रांकिततर्फ ९४ उपसचिव र ३५ अधिकृत गरी एक सय २९ कर्मचारी मन्त्रालयले सरुवा गरेको थियो भने राजपत्रअनंकित (खरिदार, नायवसुब्बा र कार्यालय सहयोगी) गरी झन्डै एक सय ४० कर्मचारी सरुवा गरेको हो । बिहीबार दिउँसोसम्म पनि सरुवाको पूर्ण विवरण पाउन सकेनन् मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटाले भने उनले राजपत्रांकिततर्फ उपसचिव र शाखा अधिकृत गरी एक सय २९ जनाको सरुवा भएको पुष्टि गरे । उक्त कुराको पुष्टि गरेपनि राजपत्रअनंकिततर्फ के-कति सरुवा भयो भन्ने जानकारी नभएको सापकोटाले बताए।

मन्त्री टेकबहादुर बस्नेत र सचिव सापकोटाको अनउपस्थितिमा र कर्मचारी प्रशासन महाशाखा प्रमुख सहसचिव बलराम रिजालको नेतृत्वमा कर्मचारी सरुवा भएको थियो । रिजाल नेतृत्वमा उपसचिव वसन्तप्रसाद पन्थी तथा शाखा अधिकृतहरू रामप्रसाद लुइँटेल र जितेन्द्रकुमार यादवको समूहले सरुवाको चाँजोपाँचो मिलाएको र बिहीबार दिनभर सम्पर्कविहीन रहेको मन्त्रालय स्रोतले जानकारी दिएको छ ।
मन्त्रालयले ९४ उपसचिव र ३५ अधिकृत गरी एक सय २९ जनालाई संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयमार्फत स्थानीय तहमा पठाएको हो ।