राजनीति

बहुविवाहको मुद्धामा वडासदस्य कारागार चलान !

काठमाण्डौ । पोखरा–लेखनाथ महानगरपालिका–८ का वडा सदस्य पुष्पराज सिग्देल बिहीबार कारागार चलान गरिएका छन् ।

बहुविवाहको मुद्दा

बहुविवाहको मुद्दामा अदालतबाट कैद र जरिवाना तोकिएका उनी फरार सूचीमा थिए । सिग्देल आफैं अदालत उपस्थित भएका हुन् ।
उनी वैशाखमा भएको स्थानीय निर्वाचनमा वडा सदस्य चुनिएका थिए ।

तहसिलदार भोलाराज रेग्मीले सिग्देल निवेदनसहित आफैं अदालतमा आएपछि कारागार पठाइएको बताए । फैसलाको झण्डै १६ वर्ष पुग्दा पनि पोखरा–८ सिमलचौरका सिग्देललाई प्रहरीले पक्रेको थिएन ।

कैद र जरिवाना
जेठी पत्नी सुशीलाको जाहेरीपछि कास्की जिल्ला अदालतका न्यायाधीश टंकबहादुर मोक्तानको इजलासले २०५८ पुस १० मा सिग्देललाई एक महिना कैद र १ हजार रुपैयाँ जरिवानाको फैसला गरेको थियो ।

फैसलापछि जरिवाना रकम धरौटीबाट असुलउपर भएको थियो भने चार दिन हिरासतमा बसेकाले २६ दिन कैद असुल हुन बाँकी रहेको अदालतले जनाएको छ ।

कांग्रेसबाट निर्वाचित
सिग्देल कांग्रेसबाट वडा सदस्यमा निर्वाचित भएका हुन् । अब उनको पद के हुने भन्ने विषयमा अन्योल देखिएको छ । निर्वाचन आयोगका कानुन हेर्ने उपसचिव कृष्ण खनालले निर्वाचित भइसकेको अवस्थामा आयोगले केही गर्न नसक्ने बताए ।

कानुनले के भन्छ ?
शुक्रबारको कान्तिपुरमा लेखिएको छ, स्थानीय भेदभाव तथा छुवाछुत, बोक्सी वा बहुविवाहसम्बन्धी कसुरमा कैद सजाय पाएको व्यक्ति सजाय भुक्तान गरेको मितिले तीन बर्षसम्म उम्मेदवार हुन पाउँदैन ।