पु.समाचार

अन्तरराष्ट्रिय बेपत्ता दिवस मनाइन्छ तर हराएका व्यक्ति भने भेटिन्दैनन् !!

नुवाकोट । अन्तरराष्ट्रिय बेपत्ता दिवसको अवसरमा हराएका व्यक्तिको खोजीका लागि दबाब दिन तथा उनीहरुको स्मरणमा नुवाकोटमा बुधबार साँझ दीपप्रज्वलन गरिएको छ ।

नेपाल रेडक्रश सोसाइटी, नुवाकोट शाखाको आयोजनामा जिल्लाबाट बेपत्ता भएका व्यक्तिको सम्झनामा दीपप्रज्वलन गरी उनीहरुको अवस्था पत्ता लगाउन तथा परिवारका सदस्यको लागि सहानुभूती प्रदान गर्न बुधबार विदुरमा मैनबत्ती बालेर बेपत्ता भएकाको स्मरण गरिएको हो ।

नुवाकोटमा सशस्त्र द्वन्द्वको समयमा २३ जना बेपत्ता भएको भनी राज्यले यकिन गरेपनि रेडक्रशको अन्तरराष्ट्रिय संस्था आइसीआरसीले भने २८ जना रहेको उल्लेख गरेको छ ।

दीपप्रज्वलनमा बेपत्ता परिवारका सदस्य चोपकुमारी थापाले राज्यले बेपत्ता भएका व्यक्तिका परिवारलाई अपहेलित गर्दै न्याय दिन नसकेको गुनासो गरिन् । “शान्ति सम्झौता भएको एक दशक बितिसक्दा समेत खोजीका लागि सरकारको सक्रियता पाएका छैनौँ ।” थापाले भने “बेपत्ता पारिएका व्यक्तिको छानबिनका लागि गठन भएको आयोगको भूमिका पनि प्रभावकारी नहुँदा सबै आशा निराशामा परिणत भए ।”

विसं २०५२—२०६३ सम्मको द्वन्द्वको क्रममा तत्कालीन राज्य र विद्रोही पक्षबाट मानव अपहरणपश्चात् बेपत्ता बनाउन संलग्न पीडकको पहिचान गरी कारबाही गर्न पीडितले माग गरेका छन् ।

मुलुकमा सशस्त्र द्वन्द्व अन्त्य भएको एक दशक बितिसक्दा पनि बेपत्ताको अवस्था पत्ता लगाउन सरकारले ध्यान नदिएको भन्दै बेपत्ता परिवारका सदस्य जानुका तामाङले आक्रोश पोखिन् ।

“मुलुकको परिवर्तनका लागि संघर्ष गर्नेदेखि निर्दोष नागरिकलाई बेपत्ता बनाउनेमध्ये कतिपय पहिचान भएका दोषी यही समाजमा छन् ।” तामाङले भनिन् “हाम्रा मान्छेको अवस्था पनि नदेखाउने र संलग्न पीडकलाई उम्मुक्ति दिने हो भने न्यायको लागि अन्तरराष्ट्रिय अदालत जान बाध्य हुन्छौँ ।”

रेडक्रशले हरेक वर्ष अगष्ट ३० अर्थात् अन्तरराष्ट्रिय बेपत्ता दिवसको अवसरमा बेपत्ता भएका व्यक्तिको खोजीका लागि दबाब दिन पहल गर्दै आएपनि उपलब्धि भने निकाल्न नसकेको, रेडक्रशले गठन गरेको हराएका व्यक्तिको खोजतलास समितिका प्रमुख रामजी पौडेलले बताए ।

व्यक्ति बेपत्ता भएपछि परिवारका सदस्यमा आर्थिक अभावले जीविकोपार्जनमा कठिनाइ र मनोसामाजिक समस्या उत्पन्न हुँदै आएको छ ।