राजनीति

विवेकशील साझा पार्टीले गर्यो एक्कासि यस्तो नयाँ निर्णय !

काठमाण्डौ । आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनलाई मध्यनजर गर्दै विवेकशील साझा पार्टीले सांगठानिक समायोजनबारे नयाँ निर्णय गरेको छ । सो पार्टीको भदौ ९ र १२ गते बसेको बैठकले आगामी निर्वाचनका लागि भन्दै पार्टीको आन्तारिक संगठनलाई सुदृढ गर्ने नयाँ निर्णय गरिएको हो ।

सो पार्टीले जिल्ला तहदेखि इकाइसम्मका सम्पूर्ण पार्टी संरचनालाई निर्वाचनका बेलासम्म संघीय प्रदेशिक समिति, वडा संयोजन समिति तथा बुथ संयोजन समितिमा रुपान्तरण गर्ने निर्णय गरेको छ ।

यस्तो छ उक्त पार्टीले छलफलपछि जारी गरेको प्रेस नोटः

मुलुकमा संघीय तथा प्रादेशिक निर्वाचन आउन अब ९० दिन पनि बाँकी रहेन। पार्टी एकीकरणपछि पूर्ववत् दुवै पार्टीका सांगठनिक संरचनाहरु आगामी निर्वाचनलाई केन्द्रमा राखेर समायोजन गर्नको लागि मिति २०७४ भाद्र ९ गते केन्द्रीय संयोजन समितिको समेत उपस्थितिमा सांगठनिक समायोजन कार्यदलको बैठक बस्यो। साथै मिति २०७४ भाद्र १२ गते संयोजन समिति, कार्यदल तथा काठमाडौं उपत्यकामा कार्यरत अगुवा वडा/जिल्ला सदस्य सहितको भेलाले सांगठनिक समायोजनमाथि थप परामर्श र छलफल गर्यो।

उक्त छलफलपछि आसन्न निर्वाचनलाई केन्द्रमा राखेर जिल्ला तहदेखि इकाइसम्मका सम्पूर्ण पार्टी संरचनाहरुलाई कम्तीमा निर्वाचन अवधिभरिको लागी ‘निर्वाचन क्षेत्र संयोजन (संघीय/प्रादेशिक) समिति’, ‘वडा संयोजन समिति’ तथा ‘बुथ संयोजन समिति’ मा रुपान्तरण गर्ने निर्णय कार्यदल तथा संयोजन समितिको संयुक्त बैठकले लिएको छ। कार्यदल तथा संयोजन समितिको निर्णय निम्न बमोजिम छ।

१. पूर्ववत् दुवै पार्टीका टोल समितिदेखि जिल्ला समितिको तहसम्मका संपूर्ण पार्टी सदस्यहरुलाई संबन्धित ‘निर्वाचन क्षेत्र (संघीय/प्रादेशिक) संयोजन समिति’को सदस्यको रुपमा समाहित गर्ने। उक्त समितिले यसरी समाहित भएका सदस्यहरूमा समय दिन सक्ने र नेतृत्व क्षमता भएकाहरुलाई हरेक निर्वाचन क्षेत्रभित्र बन्ने ‘निर्वाचन परिचालन समिति’ को सक्रिय टिममा राख्ने।

काठमाडौँ उपत्यकाकाको हकमा निर्वाचन क्षेत्र (संघीय/प्रादेशिक) संयोजन समिति र निर्वाचन परिचालन समितिलाई केन्द्रीय समितिले तोकेको कार्यदलले सुपरिवेक्षण गर्ने, प्रदेश संयोजक तोकिएको प्रदेशको हकमा प्रदेश संयोजकले वा निजले तोकेको कार्यदलले सुपरिवेक्षण गर्ने, अन्य प्रदेशको हकमा सदस्यहरुको आपसी सहमतिबाट गर्ने।

२. सम्बन्धित निर्वाचन क्षेत्रभित्र पर्ने प्रत्येक वडामा ‘वडा संयोजन समिति’ निर्माण गर्ने र त्यसले मुख्यरूपमा ‘निर्वाचन क्षेत्र संयोजन (संघीय/प्रादेशिक) समिति’सँग र ‘बुथ संयोजन समिति’सँग समन्वयात्मक कार्य गर्ने।

३. ‘वडा संयोजन समिति’ले ‘निर्वाचन क्षेत्र (संघीय/प्रादेशिक) संयोजन समिति’को सहयोगमा या त्यस्तो समिति नभए प्रत्येक वडा वडाका बुथमा कम्तीमा सात सदस्यीय ‘बुथ संयोजन समिति’ गठन गर्न प्रेरित गर्ने र सहमतिको आधारमा हरेक बुथमा एक-एक जना संयोजक र उप-संयोजक तोक्ने। बुथ समितिसँग आवद्ध अन्य साधारण सदस्यहरूलाई यसै निर्देशिकामा उल्लेख भएका र बुथ समितिले उपयुक्त ठानेका क्रियाकलापमा संलग्न गराउने।

४. ‘निर्वाचन क्षेत्र संयोजन समिति’को संयोजक संघीय संसदको निर्वाचन क्षेत्रका उमेदवार र उप-संयोजक प्रादेशिक संसदका उम्मेदवारहरु हुनेछन्। उमेदवार तोकिनु अघि आपसि सहमतिका आधारमा सदस्य मध्येबाट संपर्क व्यक्ति तोकिने छ। निर्वाचन क्षेत्र संयोजन समितिमा आवश्यक परेमा र केन्द्रिय निर्वाचन परिचालन समितिले चाहेमा कुनै पनि समयमा निर्वाचनमा सहयोग गर्न चाहाने नयाँ सदस्यहरुलाई राखेर परिचालन गर्न सक्नेछ।

५. प्रबुद्ध नागरिक, स्वच्छ छवि भएको कुनै पनि राजनीतिक व्यक्तित्व तथा सामाजिक अभियानकर्तालाई निर्वाचन प्रयोजनमा परिचालन गर्न सकिनेछ। यसो गर्दा कैंयौ अस्थायी प्रकृतिका निर्वाचन परिचालन संरचनाहरु बनाउन सकिनेछ।

६. अन्यथा तोकिए बाहेक निर्वाचन क्षेत्र संयोजन समिति, वडा संयोजन समिति र बुथ संयोजन समितिको मुख्य जिम्मेवारी देहाय बमोजिम हुनेछ:
क) बढीभन्दा बढी पार्टी सदस्यहरु बनाउने (सदस्यताको लागि चाहिने अार्थिक नियमावलीका विवरणहरु केन्द्र/प्रदेशबाट छुट्टै निर्देशिकामा अाउनेछ)।
ख) आ-आफ्नो क्षेत्रमा राम्रा र बलिया संभावित संघीय तथा प्रादेशिक उमेदवारहरु पहिचान गरी उनीहरुको सुचना पार्टी केन्द्रिय कार्यालयमा वा पार्टीको सांगठनिक कार्यदललाई जानकारी गराउने (यस बारे पनि केन्द्र/प्रदेशबाट छिट्टै विवरण अाउनेछ)।
ग) पार्टीले उम्मेदवार चयन गरेपछि ती उम्मेदवारलाई अत्यधिक मतले विजयी बनाउन पूर्णरूपमा कृयाशील हुने।

७. निर्वाचन अवधि र निर्वाचन सकिएको बढीमा ३ महिनाको लागी जिल्ला तहसम्मको सांगठनिक संरचना निम्न ३ तहमा क्रियाशील रहनेछ। तत्तपश्चात्, यी संरचनालाई पार्टीको अन्तरिम विधानले तय गरेको स्वरूपमा रूपान्तरण गरिनेछ।