राजनीति

दुई नम्बर प्रदेशमा यसरी हुँदैछ राजनीतिक दलहरुको शक्ति प्रदर्शन

सर्लाही । चुनाव नजिकिएसँगै प्रदेश नम्बर २ मा शक्ति प्रदर्शनको होड चलेको छ। सर्लाहीमा केही सातायता दिनहुँ यस्ता कार्याक्रम भइरहेका छन्। माओवादी केन्द्रले बुधबार चत्रघट्टामा पार्टी प्रवेश कार्यक्रम आयोजना गर्योे।

अध्यक्ष पुष्पकमल दाहाल सहभागी कार्यक्रममा स्थानीय नेतृत्वले हजारौं सर्वसाधारण जुटाएर मधेसमा आफू बलियो शक्ति रहेको देखाउने प्रयास गरे । भीड देखेपछि दाहालले मधेसमा माओवादी दह्रो पार्टी रहेको पुष्टि भएको बताए।

दाहालले उक्त कार्यक्रममा फोरम लोकतान्त्रिकका वरिष्ठ उपाध्यक्ष रामेश्वर रायलाई पार्टीप्रवेश गराए। पार्टीप्रवेशपछि रायले मधेसवादी नेताले मधेसी नागरिकलाई देखाएर व्यक्तिगत स्वार्थ पूरा गरिरहेको प्रतिक्रिया दिए।

माओवादी केन्द्रका अध्यक्ष दाहालदेखि अन्य शीर्ष नेतासम्म सप्तरीका विभिन्न गाउँ पुगेर कार्यकर्ता भेटघाट र चुनावी सभामा सहभागिता जनाइरहेका छन्।

दाहालले दुई दिनअघि जनकपुरमा भएको कार्यक्रममा पूर्वमन्त्री अनिश अन्सारीलगायतका सप्तरीका केही नेता कार्यकर्तालाई पार्टीप्रवेश गराए। सद्भावनाका संस्थापक नेता अन्सारी माओवादी केन्द्रमा गएसँगै राजविराज नगरपालिकाको प्रमुखको उम्मेदवारको रूपमा चर्चा चलिरहेको छ।

राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका नेताहरूशरतसिंह भण्डारी र महेन्द्र यादव बुधबार डाकनेश्वरी नगरपालिकाको पत्थरगाडामा आयोजित चुनावी सभामा उपस्थित भए। बिहीबारको कान्तिपुरमा लेखिएको छ, यता एमालेका महेन्द्र पाण्डेसहितका नेता विभिन्न स्थानमा चुनावलक्षित कार्यक्रम गरी फर्केका छन्।