शिक्षा

सरकारी कलेजलाई प्राईभेट बनाउने दलालका बिरुद्ध यसरी ताते इञ्जिनियरिङ कलेजका बिद्यार्थी

रमेश गिरी
भक्तपुर । चाँगुनारायण नगरपालिकास्थित नेपाल इञ्जिनियरिङ कलेज निजीकरणको विरोधमा त्यहाँ अध्ययनरत विद्यार्थीले बुधबार जिल्ला प्रशासन कार्यालय भक्तपुरमा धर्ना दिएका छन् ।

संस्था ऐन, २०३४ को दफा ४ बमोजिम विसं २०६० भदौ ४ गते जिल्ला प्रशासन कार्यालय भक्तपुरमा गैरनाफामूलक सामाजिक संस्थाका रुपमा दर्ता भएको यो कलेजलाई निजीकरण हुनबाट जोगाउन माग गर्दै विद्यार्थी धर्नामा बसेका हुन् । विद्यार्थी आन्दोलित भएसँगै गत सातादेखि पढाइसमेत अवरुद्ध भएको छ ।

भक्तपुर जिप्रका मै दर्ता भई स्थापनादेखि नै गैरनाफामूलक संस्थाका रूपमा सञ्चालन हुँदै आएको कलेजलाई निजीकरण हुनबाट रोकी गैरनाफामूलक संस्थाकै रूपमा सञ्चालन गर्न प्रजिअ द्रोण पोखरेलको ध्यानाकर्षण गराउन सयौँ विद्यार्थीले धर्ना दिएका हुन् ।

कलेजमा अध्ययनरत करिब दुई हजार विद्यार्थीले कलेज सञ्चालकले निजीकरण गरेर आफूहरुको भविष्य अन्योल बनाउन खोजेको भन्दै आफूहरूको शैक्षिक भविष्य सुनिश्चित गर्न माग गरेका छन् ।

विद्यार्थी आद्रता रेग्मीले दुई हजारभन्दा बढी विद्यार्थीको भविष्यमाथि खेलबाड गर्ने काम नरोकिए आन्दोलनलाई अझै सशक्त बनाइने बताए । अर्का विद्यार्थी नवराज त्रिपाठीले सामाजिक संस्थाका रुपमा रहेको कलेजले निजीकरण गर्न कै लागि अत्यधिक शुल्क बढाएर नाफा बाँडफाँड गरेको भन्दै सञ्चालकलाई कारबाहीको माग गरे ।

यो कलेजमा पोखरा विश्वविद्यालयको सम्बन्धनमा इञ्जिनियरिङतर्फ स्नातकोत्तर तहसम्मको पढाइ हुँदै आएको छ ।

यसैबीच, कलेज सञ्चालक समितिका अध्यक्ष लम्बोदर न्यौपानेले गएको वैशाख २५ गते कम्पनी रजिस्ट्रारको कार्यालय काठमाडौँबाट नेपाल इञ्जिनियरिङ कलेजकै नाउँमा प्राइभेट कम्पनी दर्ता गरेका छन् । अध्यक्ष न्यौपानेले सामाजिक संस्थाका रुपमा दर्ता भएको उक्त कलेजको सम्पत्ति कम्पनीका सञ्चालकलाई बाँड्ने निर्णयसमेत गरेका छन् जसअनुसार केही सदस्यले उक्त सम्पत्ति बराबरको रकम बुझिसकेको बताइएको छ ।

कलेजले रु तीन लाख ९० हजारमा इञ्जिनियरिङको स्नातक अध्ययन अध्यापन गराउँदै आएकामा शुल्क बढाउँदै हाल रु १३ लाख पु¥याएको छ । यो शुल्क निजी इञ्जिनियरिङ कलेजले लिने शुल्कको हाराहारीमा पर्ने विद्यार्थीहरु बताउँछन् ।

गैरनाफामूलक संस्था भएकै कारण चाँगुनारायण नगरपालिका (तत्कालीन दुवाकोट र चाँगुनारायण गाविस) ले १७४ रोपनी सार्वजनिक जग्गा कलेजलाई उपलब्ध गराएको थियो । त्यसबापत कलेजले दुवाकोट, चाँगुनारायण र झौखेलका एक/एक जनालाई पूर्ण र दुई/दुई जनालाई ५० प्रतिशत छात्रवृत्तिमा स्नातक तहमा इञ्जिनियरिङ अध्ययनको व्यवस्था गर्दै आएको थियो । तर हाल ५० प्रतिशत छात्रवृत्ति कटौती गरेको चाँगुनारायण नगरपालिका वडा नं २ का वडाध्यक्ष शिवहरि केसीले बताए ।

यसैबीच, चाँगुनारायण नगरपालिकाका प्रमुख सोम मिश्रले इन्जिनियरिङ कलेजलाई कुनै पनि हालतमा निजीकरण हुन नदिइने बताएका छन्। आन्दोलित विद्यार्थीका ज्ञापनपत्र बुझ्दै उनले भने, “कलेजलाई निजीकरण गर्ने समूहविरुद्ध नगरपालिका लाग्ने छ । कुनै हालतमा निजीकरण हुने दिइने छैन ।”

इञ्जिनियरिङ कलेजको निजीकरणविरुद्ध स्थानीयवासी र राजनीतिक दलसमेत आन्दोलनमा उत्रिएका छन् । दुवाकोट, झौखेल, चाँगुनारायणका स्थानीय बासिन्दाले विद्यार्थीसँगै कलेजमा धर्ना दिन थालेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल इञ्जिनियरिङ कलेजको निजीकरण एवं भ्रष्टाचारबारे अनुसन्धान शुरु गरेको छ । आयोगले कलेजका कागजपत्र झिकाएर अनुसन्धान सुरु गरेको जनाइएको छ ।