राजनीति

भरतपुरमा वैज्ञानिक भूमि व्यवस्थापन गरिने : रेणु दाहाल

चितवन । सभ्य र व्यवस्थित भरतपुर महानगरपालिका निर्माणका लागि भूमिको वैज्ञानिक व्यवस्थापन गरिने महानगरकी प्रमुख रेणु दाहालले बताएकी छन् ।

नारायणी जग्गा तथा आवास व्यवसायी संघले आज यहाँ आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनले राज्यले विकल्पसहित आवास र बजारीकरणको व्यवस्था गर्नुपर्ने बताउँदै महानगरपालिका योजनाबद्ध भूमि व्यवस्थापनको पक्षमा रहेको बताईन् ।

प्रमुख दाहालले जग्गाको तत्काल वर्गीकरण गरी उचित व्यवस्थापन गर्न महानगर तयार रहेको भन्दै अहिले भइरहेको अस्तव्यस्त जग्गा खण्डीकरण भने रोकिने बताईन् । यस कार्यमा महानगरलाई सहयोग गर्न समेत उनले जग्गा व्यवसायीलाई आग्रह गरिन् ।

कार्यक्रममा उपप्रमुख पार्वती शाहले सुन्दर महानगर निर्माणका लागि जग्गा तथा आवास व्यवसायीले कानूनको अधिनमा रही सहयोग पुर्याउन आग्रह गरिन् ।

हालै मन्त्रीस्तरीय निर्णयबाट जग्गाको कित्ताकाट तथा बिक्री वितरणमा रोक लगाइएको र सोसम्बन्धी अदालतमा पुगी जग्गा खरिद बिक्री वितरणमा रोक नलगाउन निर्देशन गरिसकेकामा सम्बन्धित निकायले काम कारबाही नगरेकामा व्यवसायीले विरोध जनाएका थिए । पछिल्लो समयमा खेतीयोग्य जमिनमा समेत खण्डीकरण गर्ने क्रम बढेसँगै भूमि व्यवस्थापनको चिन्ता सर्वत्र हुन थालेको छ ।

कार्यक्रममा संघका कार्यबाहक अध्यक्ष केशवकुमार कार्कीले व्यवसाय धरासायी हुने गरी सरकारले जनताको नैसर्गिक अधिकार रोक्न नहुने बताउँदै व्यवस्थित खण्डीकरणका पक्षमा व्यवसायी रहेको बताए ।