पु.समाचार

युनिसेफ र फिन चर्च एडद्वारा ३ सय बाईस विद्यालय पुनःनिर्माण

गोरखा । फिन चर्च एडले भूकम्पले भत्काएका गोरखाका ११३ विद्यालयमा २२६ वटा कक्षाकोठा पुनःनिर्माण गरेको छ । गोरखा नगरपालिका, पालुङटार नगरपालिका, मसेल, बगुवा, ताप्ले, मान्वु, आरुघाटलगायत क्षेत्रका विद्यालयमा अर्धपक्की भवन निर्माण गरिएको फिन चर्च एडकी कार्यकारी व्यवस्थापक जेभिस रानाले जानकारी दिए ।

दुईकोठे एउटा भवन पुनः निर्माणलाई रु १० लाख ३८ हजार लगानी भएको छ । भवन पुनः निर्माणलाई ४.५ मिलियन सहयोग आएको थियो । गोरखा नगरपालिकाभित्रका नवज्योति प्रावि, चन्द्रज्योति प्रावि, राजवृक्ष प्रावि, गोरखकाली प्रावि, भगवती प्रावि, बज्रभैरव प्रावि, बालविकास प्रावि, सूर्यज्योति निमाविलगायत विद्यालयमा भवन निर्माण गरिएको हो ।

विद्यालयमा दुईकोठे भवन निर्माण गर्नुका साथै मदरसा पनि पुनःनिर्माण गरेको फिन चर्च एडका जिल्ला संयोजक किसन श्रेष्ठले बताए । पक्की विद्यालय भवन निर्माण नभएसम्म अर्धपक्की भवनबाट पठनपाठन भइरहेका छन् । फिन चर्च एडले गोरखामा ११३ विद्यालय, मकवानपुरमा १११ र सिन्धुलीमा ९८ वटा विद्यालय भवन निर्माण गरिदिएको छ ।

युरोपियन युनियन, युनिसेफ र फिन चर्च एडले संयुक्त रुपमा लगानी गरी विद्यालय भवन निर्माण गरेका हुन् । गोरखामा विश्व परिदृश्य वकालत मञ्चले दाताहरुको अर्थ सहयोगमा विद्यालय भवन निर्माण गरेको हो ।

जिल्ला शिक्षा अधिकारी दीपेन्द्र सुवेदीले भूकम्पबाट क्षति पुगेका ४४९ विद्यालयमध्ये अहिलेसम्म २०५ वटा पुनःनिर्माण भइसकेको र १५० वटा प्रावि तहका विद्यालय पुनःनिर्माणमा स्रोत जुटाउन बाँकी रहेको बताए ।

भूकम्प अनुदान रकम चोरी गर्ने दुईजना पक्राउ

गोरखाको धार्चे गाउँपालिका–६ काशीगाउँका सूर्य घलेको साथबाट रु एक लाख ३१ हजार चोरी गरेको आरोपमा प्रहरीले काशीगाउँका दुईजना युवालाई पक्राउ गरेको छ । पक्राउ भएका युवालाई आज जिल्ला प्रहरी कार्यालय गोरखा ल्याउने तयारी छ ।

घलेको साथमा रहेको निजी आवास पुनःनिर्माण अनुदान रकम चोरीमा संलग्न काशीगाउँका २१ वर्षीय यसा गुरुङ र २० वर्षीय कुमार गुरुङलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय आरुघाटका प्रहरी निरीक्षक हेमबहादुर केसीले जानकारी दिए । चोरीमा संलग्न अर्का एकजना फरार छन् । उनको खोजी भइरहेको छ ।

चोरी गरेको रु एक लाख ३१ हजार बिम्बो घलेको घरबाट प्रहरीले मंगलबार बरामद गरेको छ । फरार रहेका बिम्बो घलेको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरी चौकी मान्वुका असई रेखबहादुर थापा नेतृत्वमा सातजना प्रहरी टोली चोरीमा संलग्नको खोजीमा लागिपरेका छन् । सोमबार राति १२ बजे भेडीगोठमा सुतिरहेका सूर्य घलेलाई कुटपिट गरी उनको साथबाट रकम लुटपाट भएको थियो । घलेको मुखमा गम्भीर चोट लागेकाले उनलाई हेलिकोप्टरबाट उद्धार गरी उपचारका लागि राजधानी लैजाने तयारी गरिएको प्रहरीले जनाएको छ ।