राजनीति

सरकारद्वारा सचिवहरुको सरुवा साथै पदोन्नति गर्ने निर्णय !!

काठमाण्डौ । आज बुधबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले केही सचिवहरुको जिम्मेवारी हेरफेर गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले बताए । उनका अनुसार क्षेत्रीय प्रशासक शम्भु कोइराला भूमिसुधार मन्त्रालयमा, त्यस्तै भूमि सुधारका कृष्णप्रसाद देवकोटालाई आपूर्ति मन्त्रालय पठाइएको छ भने निर्वाचन आयोगमा रहेका महेश्वर न्यौपाने पर्यटन मन्त्रालयमा सरुवा भएका छन् ।

सचिव कृष्णराज बिसी खानेपानी तथा सरसफाई मन्त्रालयमा पुगेका छन् । यसअघिका सचिव भीम उपाध्यायले अवकाश लिएपछि सरसफाई मन्त्रालयमा बिसी पुगेका हुन् । त्यस्तै पर्यटन मन्त्रालयका शंकरप्रसाद अधिकारी निर्वाचन आयोगमा सरुवा भएको बस्नेतले जानकारी दिए ।

मन्त्रिपरिषद्ले एशियाली विकास बैंकबाट भन्सार क्षेत्रको सुधार तथा आधुनिकीकरणका लागि प्राप्त रु १५ अर्ब ४८ करोडको बजेट (विशेष गरी प्रसारण र वितरणको क्षेत्रमा खर्च गर्न) ऋण अनुदान सहायतालाई स्वीकार गर्ने निर्णय गरेको छ ।

मन्त्री बस्नेतले भने, ‘केही प्रहरी वरिष्ठ उपरीक्षकको दरबन्दी खारेज गरी प्रहरी नायब महानिरीक्षकको दरबन्दी सिर्जना गर्नेबारे मन्त्रिपरिषद्‌मा छलफल भएको छ ।’

यसैगरी बैठकले नेपाली सेनाका सहायक रथी राजेन्द्र कार्कीलाई उपरथी पदमा पदोन्नति गर्ने निर्णय गरेको छ भने अनुसन्धान निर्देशक पदमा हुतराज थापालगायत तीन जनालाई बढुवा गरेको छ ।