पु.समाचार

क्यान्सरका कारण कैद भुक्तान गरिरहेका विदेशी नागरिकको मृत्यु

चितवन । चितवनको भरतपुर कारागारमा कैद भुक्तान गरिरहेका विदेशी नागरिकको क्यान्सर रोगका कारण आज बिहान मृत्यु भएको छ ।

खोटा चलन (नक्कली पैसासम्बन्धी) मुद्दामा काठमाडौँ जिल्ला अदालतले २०७० वैशाख २ गते दोषी ठहर गरी कारागार चलान भएकी पाकिस्तानी नागरिक जुलेखा बानोको आज बिहान ७ बजे मृत्यु भएको भरतपुर कारागारका जेलर कमल काफ्लेले जानकारी दिए ।

उनका अनुसार स्तन क्यान्सरबाट पीडित बानोको उपचारकै क्रममा मृत्यु भएको हो । उनको शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ । पासपोर्ट नम्बर ए ३३७९५१८१ रहेकी उनको २०७६ वैशाख १ गतेसम्मका लागि कैद तोकिएको थियो ।

क्यान्सर भएपछि उपचारका लागि भन्दै उनलाई गएको फागुन ७ गते केन्द्रीय कारागार काठमाडौँबाट चितवन ल्याइएको थियो । यसअघि विराटनगर घर भएका ४२ वर्षीया अम्बिका कामतको स्तन क्यान्सरकै कारण गत साउन १९ गते मृत्यु भएको जिल्ला कारागार चितवनले जनाएको छ ।

यस्तै साउन १३ गते मकवानपुर हाँडीखोला घर भएका ४७ वर्षीय कैदी सीताराम विकको पनि कलेजोको क्यान्सरका कारण मृत्यु भएको काफ्लेले जानकारी दिए । गत चैत दोस्रो साता सिन्धुलीका ३५ वर्षीय अर्जुन गिरी र रुपन्देहीका ठगराज पौडेलको क्यान्सर रोगका कारण मृत्यु भएको थियो ।

भरतपुर कारागारमा अब एकजना क्यान्सर रोग लागेका कैदी छन् । कारागारमा अहिले पनि क्षमताभन्दा तेब्बर बढी कैदी र थुनुवा छन् ।