राजनीति

एमालेले छाडेन निर्वाचनमा अन्तर्घात गर्नेलाई, पार्टी कमिटीबाट निष्काशन सहित एकैपटक ६२ जनालाई कारबाही !!

कपिलवस्तु । नेकपा (एमाले) कपिलवस्तुले स्थानीय तहको निर्वाचनमा अन्तर्घात गरेको भन्दै एकैपटक ६२ जनालाई कारबाही गरेको छ ।

कारबाहीमा जिल्ला नेतादेखि साधारण सदस्यसमेत परेका छन् । कारबाहीस्वरुप केहीलाई जिल्ला कमिटीबाट हटाइएको छ भने केहीलाई निलम्बन गरिएको छ ।

जिल्ला कमिटी र सल्लाहकार परिषद्का सदस्य पूर्णचन्द्र परियार, फूलकुमारी श्रेष्ठ, खम्बबहादुर शाहलाई जिल्ला कमिटीबाट निलम्बन गरिएको छ ।

त्यस्तै, बलराम भुसाल, मनेश्वरी श्रेष्ठलाई पार्टी कमिटीबाट निष्काशन गरिएको छ । त्यस्तै गरी रामबहादुर गन्धर्वलाई पार्टी कमिटीबाट निलम्बन गरिएको छ ।

यसैगरी, १५ जनालाई पार्टीबाट निष्काशन समेत गरिएको पार्टी सचिव बाबुराम आचार्यले जानकारी दिए । जिल्ला कमिटी कपिलवस्तुले उनीहरुलाई पार्टी विधानको धारा ४९ को दफा क ३ र ८ बमोजिम कसुरको आधारमा कारबाही गरिएको पार्टीका जिल्ला अध्यक्ष झविलाल पोख्रेलले जानकारी दिए ।

बैठकले आगामी माघसम्मको कार्ययोजना समेत तय गरेको छ । साथै, बैठकले जिल्ला कमिटी सदस्य र नगर संगठन कमिटीमा केहीलाई मनोनयन पनि गरेको छ ।