राजनीति

यसरी हुँदैछ अबको चुनावमा राजनीतिक दलहरुको धुर्वीकरण, कांग्रेसको पोजिसन यस्तो !

काठमाण्डौ । प्रधानमन्त्री शेरबहादुर भारत भ्रमणबाट फर्किएलगत्तै सरकार गठबन्धनमा रहेको पार्टी माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भारत भ्रमणमा भएका केही सम्झौताहरुको सिधै आलोचना गरिरहेका छन् । अध्यक्ष प्रचण्डले यो विषयका सवालमा सर्वदलीय बैठकमा प्रधानमन्त्री देउवाले जवाफ दिनुपर्ने उनको माग रहेको छ ।

प्रचण्डले प्रधानमन्त्री देउवाले संविधान संशोधन र कोशीमा भारतले उच्च बाँध बनाउने विषयमा भएको समझ्दारीलाई स्वीकार गर्न नसकिने बताइरहेका छन् । यो विषयमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भने भारतमा दुई देशका प्रधानमन्त्रीबीच संयुक्त पत्रकार सम्मेलन भएलगत्तै ४६ बुँदे सम्झौता बाहिर आएपछि कडा आलोचना गरेको थियो ।

प्रधानमन्त्री देउवाले भारत भ्रमणमा गरेका समझ्दारी र त्यसका कारण सत्तारुढ गठबनधनबीच खट्पट् सुरु भएको हो कि ? भन्नेमा सबैला आशंका गरिरहेका छन् । यसले कतै माओवादी केन्द्रलाई एमालेको कित्तामा त पुर्याउदैन ? भन्ने सम्मका प्रश्नसहित बहस सुरु भैरहेका छन् । तर त्यस्तो संकेत अहिलेनै नदेखिएको जानकारहरु बताउँछन् ।

प्रचण्डले भारत भ्रमणका क्रममा भएका सम्झौताका विषयमा कडा आलोचना गरे पनि सरकार गठबन्धनमा कुनै असर नपर्ने उनीहरुको दाबी छ । प्रधानमन्त्रीले सर्वदलीय बैठकमा यो कुराको जवाफ दिनुपर्ने माग प्रचण्डले अघि सारेपनि यसले खासै असर नपर्ने देखिएको छ । किनभने प्रधानमन्त्री देउवाले सोमबारको संसद बैठकमा दिएको जवाफनै सबै पक्षलाई पुग्ने गरी दिएको विश्लेषण गर्न थालिएको छ ।

त्यतिमात्र होइन असोज २ गते हुने स्थानीय तहको तेश्रो चरणको निर्वाचन र मंसिर १० गते हुने प्रदेश र प्रतिनिधिसभाको निर्वाचनका लागि दलहरुको धूर्वीकरण हुने गतिले तिव्रता पाएको समेत संकेत देखिन थालेको छ, जसका कारण कांग्रेस–माओवादी गठबन्धनलाई थप दरिलो बनाइदिएको जानकारहरु बताउँछन् ।

कुन दल कता धुर्वीकरण हुँदैछन् ?
चुनाव नजिकिँदै गर्दा मुलुकका ठुला दलहरुदेखि साना दलसम्म धुर्वीकरण हुने क्रम बढेको देखिन्छ । ठुला दलहरु नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्रको नेतृत्वमा धुर्वीकरणको रफ्तार बढ्न थालेको देखिएको हो । नेपाली कांग्रेस र माओवादी केन्द्र यसअघि देखिनै सरकार गठबन्धनमा रहेकोले उनीहरुको तालमेल प्रदेश र प्रतिनिधिसभासम्मै हुने देखिदैछ भने एमालेको नेतृत्वमा केही दलहरुले अर्को धुर्वीकरण गर्दैछन् ।

एमालेको नेतृत्वमा कमल थापा नेतृत्वको राप्रपा, नेकपा माले लगायतका साना पार्टीहरुको धुर्वीकरण भैरहेको देखिदैछ भने भर्खरै कमल थापा नेतृत्वको राप्रपाबाट फुटेर राप्रपा प्रजातान्त्रिक गठन गरेका पशुपतिशमशेर राणाको दल भने सत्तारुढ दलहरु कांग्रेस–माओवादीसँग धुर्वीकरण हुँदैछ । त्यस्तै मधेसवादी दलहरु भने आफ्नै ढंगले लागिरहेका छन् ।

मधेसका दलहरुमध्ये संघीय समाजवादी फोरम,फोरम लोकतान्त्रिक र राजपाले धुर्वीकरणको बाटो स्पष्ट नगरेपनि यी दलले चुनावमा भने आफ्नो अनुकूलतामा तालमेल गर्न सक्ने देखिदैछ । यद्यपि, संघीय समाजवादी फोरम र बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिबीच यसअघि पार्टी एकतानै गर्ने प्रस्ताव अघि सारिसकिएकोले उनीहरुबीच तालमेल हुने सम्भावना पनि उत्तिक्कै छ, तर पार्टी एकता प्रक्रिया बीचमै अड्किएकोले यी दुई पार्टीबीच धुर्वीकरण हुने–नहुने भन्ने निश्चित देखिदैन । त्यसर्थ, दलहरुबीच यसरी धुर्वीकरणको संकेत देखिएपछि आगामी चुनावको माहोल थप तात्ने देखिदैछ ।

कांग्रेसलाई यस्तो सुझाव !
नेपाली कांग्रेसभित्र यसअघिको स्थानीय चुनावमा माओवादी केन्द्रसँग तालमेल गर्दा पार्टीलाई निकै ठूलो नोक्सानी भएको बहस चर्किरहेको छ । अधिकांश इमान्दार र त्यागी कार्यकर्ताहरुले माओवादी केन्द्रसँग तालमेल गरेर जाँदा भन्दा कांग्रेसले एक्लै चुनाव लड्दा राम्रो नतिजा ल्याउन सक्ने भन्दै नेतृत्वलाई सुझाव दिइरहेका छन् । तर पार्टी नेतृत्वले भने सरकार र सत्ता समिकरणमा भएको तालमेललाई हेरेर चुनावमा समेत त्यो नीति अख्तियार गरेको देखिन्छ ।

यसले कांग्रेसलाई घाटा भैरहेको एकथरी कार्यकर्ताहरुको बुझाई छ । स्थानीय चुनावकै क्रममा पनि कांग्रेस एक्लै चुनाव लडेका ठाउँमा विजयी भएको र माओवादीसँग तालमेल भएका अधिकांश ठाउँमा भने चुनाव हारेको देखिन्छ । नेपाली कांग्रेस पुरानो र प्रजातान्त्रिक मूल्य र मान्यतामा अडिग पुरानो पार्टी भएकोले पनि जनताले एक्लै मैदानमा जाँदा साथ दिने सो पार्टीका अधिकांश नेता कार्यकर्ताहरुले सुझाव दिएका छन् ।

माओवादी केन्द्रले गरेको ब्लन्डर कमी कमजोरीको दोष समेत तालमेल गर्दा कांग्रेसको टाउकोमा आइलागेको र उसको कमजोरीलाई समेत बोकेर हिड्दा कांग्रेस कमजोर बन्दै गएको उनीहरुको बुझाई छ ।

अर्कातिर पाँचदिने राजकीय भ्रमणका क्रममा भारतले समेत एमालेलाई साइजमा ल्याउन केही समय माओवादी केन्द्रसँग तालमेल गरेर जान प्रधानमन्त्री देउवालाई सुझाव दिएका खबर बाहिर आइरहेका छन् । यसले झन् यी दुई पार्टीबीच दरिलो गठबन्धन हुने देखिदैछ ।