पु.समाचार

यसकारण छाड्यो भारतीय सेनाले एक्कासि विवादास्पद दोक्लम भूमि !

एजेन्सी । चीन र भुटानको सीमामा चिनियाँ सेनाले सुरु गरेको सडक निर्माणको काम रोक्न दोक्लाम पुगेको भारतीय सेना अन्ततः पछि हट्न बाध्य भएको छ । तनाबकै बीचमा भारतले दुवै देशका सैनिक पछि हट्न राखेको प्रस्ताव चीनले ठाडै अस्वीकार गरेपछि भारतीय सेना अन्ततः हार मानेर फर्किएको हो ।

दोक्लाम विवाद चर्किएलगत्तै दुवै देशबीच दर्जनौ पटक वार्ताहरु भएका थिए । ती वार्तामा भारतले दुवै देशका सेना केही पछि हट्ने प्रस्ताव राखेको थियो । त्यसलाई चीनले सिधै अस्वीकार गरेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।

भारतले चीनसँगको यो सम्बन्ध सुधारको संकेत ब्रिक्स सम्मेलनमा भाग लिन जानुभन्दा केही दिनअघि दिएको छ । यद्यपि, भारतले आफ्नो सेनालाई आफ्नै देशमा फर्काएपनि चिनियाँ सेनाहरु भने अझै दोक्लाम क्षेत्रमा गस्ती गरिरहेको रोयटर्सले जनाएको छ । यसको मतलव दोक्लम विवादमा चीनको जित भएको छ । भारतीय सेना आफ्नो सुरक्षित स्थानमा पुगिसकेको समेत सञ्चारमाध्यामहरुले जनाएका छन् ।

वास्तवमा दोक्लम चीन र भुटानबीच सीमा जोडिएको भूमि हो । यो क्षेत्रलाई यी दुवै देशले आ–आफ्नो दाबी गर्दै आएका छन् । यही विवादका बीचमा भारत घुसेको थियो । सो क्षेत्रमा चिनियाँ जनमुक्ति सेनाले सडक निर्माण गर्न थालेपछि भुटान र भारतबीचको सीमा पार गरेर भारतीय सेना त्यहाँ पुगेको थियो ।

भारतीय सेना त्यहाँ पुगेपछि चीनले आइपरे खतरनाक युद्धनै गर्न पछि नपर्ने संकेत दिएपछि भारत बाध्य भएर त्यहाँबाट हटेको सञ्चारमाध्यामहरुले बताएका छन् । भुटानको अनुरोधमा आफु त्यहाँ पुगेको भारतीय दाबी रहेपनि भुटानले यो विषयमा प्रष्ट धारणा बाहिर ल्याएको छैन ।

अहिले एक्कासि भारतले सो क्षेत्रबाट आफ्नो सेनालाई फिर्ता बोलाएपछि चीन र भारतबीचको केही महिनादेखिको तनावको अन्त्य मात्र भएको छैन, एउटा ठुलै युद्ध टरेको विश्लेषण गर्न थालिएको छ ।