समाचार

लायन्स क्लबको नयाँ कदम, बीस परिवार बाढी प्रभावितलाई घर बनाइदिने

चितवन । रत्ननगर नगरपालिका वडा नं ८ रमाइलो टोलमा रहेका २० घर बाढी प्रभावित परिवारलाई लायन्स क्लब अफ चितवन राइनो सिटीको नेतृत्वमा नयाँ घर बनाइने भएको छ ।

करिब रु ५० लाखको लागतमा यहाँ रहेका विपन्न परिवारका लागि घर निर्माण गर्ने निर्णय भएको सो संस्थाका पूर्व अध्यक्ष नीरज श्रेष्ठले जानकारी दिए ।

बाढीले यहाँका सुकुम्बासीको २० घरमा क्षति पुर्याएकाले परियोजना सञ्चालन गरेर उनीहरुका लागि नयाँ घर निर्माण गर्न लागिएको उनले बताए । घर निर्माणमा रत्ननगर नगरपालिकाले जग्गा उपलब्ध गराइदिने घर निर्माणमा कम्तिमा रु दुई लाख सहयोग गर्नेको दाताको नाम राखिने जनाइएको छ । लायन्सका प्रतिनिधि विभिन्न सङ्घसंस्था तथा व्यवसायीबाट घर निर्माणमा योगदान हुनसक्ने लायन्स क्लब अफ चितवन राइनो सिटीले जनाएको छ ।

घर निर्माणसँगै सो क्षेत्रलाई वातावरणमैत्री बनाइने, घरसँगै सामुदायिक भवन तथा शौचालय बनाइने, बालबालिकालाई शिक्षा दिइने, नियमित स्वास्थ्य परीक्षणको व्यवस्था मिलाइने र आयस्रोतका लागि कोष स्थापना गरी क्षमताअनुसारको रोजगारीको व्यवस्था मिलाइने जनाइएको छ ।
बाढीले रत्ननगर नगरपालिकाका विभिन्न बस्ती डुबानमा पारेकामा नगरपालिकाको वडा नं ५, ६ र ७ मा ६०० भन्दा बढी परिवार प्रभावित भएका थिए ।