अन्तर्राष्ट्रिय

अमेरिकाको टेक्सासमा भीषण आँधी, एक हजारभन्दा बढी मानिसको उद्धार

एजेन्सी । अमेरिकाको टेक्सासमा हार्भी नामक आँधीपश्चात भएको भारी वर्षाका कारण आएको बाढीले ह्युस्टन शहरका विभिन्न भाग डुबानमा परेपछि एक हजार भन्दा धेरै मानिसको उद्धार गरिएको छ।

मौसमसम्बन्धी निकाय न्यासनल वेदर सर्भिसले भनेको छ ह्युस्टन मेट्रो क्षेत्रभर बाढी आपतकालको स्थिति छ र त्यहाँ यात्रा लगभग असम्भव छ। सो ठाउँमा पाँचजनासम्मको ज्यान गएको भन्ने खबर भएपनि हालसम्म जम्मा एकजनाको मृत्युको पुष्टी हुन सकेको उसले जनाएको छ।

गभर्नर ग्रेग एबटले बाढीनै उनको प्रमुख चिन्ता भएको बताए। ह्युस्टन शहरको अन्तर्राष्ट्रिय विमानस्थलको रनवेमा पानी जम्मा भएकाले हाल बन्द गरिएको छ।

अन्यत्र आँधीका कारण दुईजनाको मृत्यु भएको पुष्टी भएको छ। पानीमा डुबेको एउटा गाडीभित्र एक महिला र बच्चाको शव भेटिएको बारे अनुसन्धान भइरहेको अधिकारीहरुले बताएका छन्।

टेक्ससमा उद्धारकर्मीहरुको टोलीले उक्त राज्यमा पचास वर्ष यताकै सबभन्दा शक्तिशाली भनिएको हार्भी नामक आँधी आएपछि अझै त्यहाँ आफ्नै घर अथवा गाडीमा फसिरहेका सयौं मानिसहरुको उद्धार कार्य गरिरहेको छ।