पु.समाचार

धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका कर्मचारीले बुझाए १६ बुँदे ज्ञापनपत्र 

 

धरान । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका कर्मचारीहरुले अस्पताल सुधारको माग गर्दै प्रशासन समक्ष १६ बुँदे ज्ञापनपत्र बुझाएका छन् । आइतबार प्रतिष्ठानमा कार्यरत  कर्मचारीहरुको संगठन कर्मचारी कल्याण समाजको नामले सो ज्ञापनपत्र बुझाएको हो ।

समाजका अध्यक्ष सुजेन्द्र र तामाङ र सचिव भरतलाल चौधरीको नेतृत्वमा बुझाइएको सो ज्ञापनपत्रमा प्रतिष्ठानभित्र देखिएका आर्थिक अनियमितता र त्यसको व्यवस्थापनका बारेमा प्रशासनले तुरुन्त जवाफ दिनुपर्नेमा जोड दिइएको छ ।

सो ज्ञापन पत्रमा प्रतिष्ठानले परामर्शदाताहरुलाई भुक्तानी गरिएको करिब ७ करोड रुपैयाँ किन हतारमा बाँडियोको बारेमा समेत प्रश्न उठाइएको छ । त्यस्तै  प्रतिष्ठानकै हाताभित्र निर्माणाधीन एमसीएच भवन निर्माणको क्रममा परामर्शदातालाई लागतको १.४ प्रतिशतमा ठेक्का दिइएको नजिर हुँदाहुँदै क्यान्सर र मुटु रोगसम्बन्धी भवनको परामर्शको निमित्त छुट्याइएको ३.६ प्रतिशत ठेक्काको बारेमा समेत प्रश्न उठाइएको छ ।

त्यस्तै ज्ञापनपत्रमा प्रतिष्ठानका कर्मचारीहरुको तलब बृद्धि, नियुक्तिपत्रको सवाल, प्रतिष्ठानको इमरजेन्सी, आइसियू, डायलाइसीस, रेडियोलोजी, प्रयोगशाला लगायतका सेवाहरुलाई चुस्तदुरुस्त राख्नुपर्ने लगायतका १६ सुत्रीय माग राखिएको छ ।

यस्ता छन् समाजले राखेका १६ सुत्रीय मागहरुः

श्री उपकुलपतिज्यू

वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान ।

विषयः ज्ञापन–पत्र सम्बन्धमा ।

महोदय,

उपरोक्त सम्बन्धमा यस प्रतिष्ठानबाट सञ्चालन भईरहेका स्वास्थ्य सेवा, शिक्षा, अनुसन्धान तथा प्रशासनिक र आर्थिक गतिविधि सम्बन्धमा उठेका आन्तरिक तथा सार्वजनिक चासोका देहाय बमोजिमका विषय वस्तु सम्बन्धमा यस समाजको मिति २०७४।०५।११ गते को बैठकको गम्भिर ध्यानाकर्षण भई सो सम्बन्धमा तत्काल संवोधन होस् भनि यो ज्ञापन–पत्र बुझाइएको छ ।

नयां व्यवस्थापनले आफ्नो कार्य प्रारम्भ गरेको ६ महिना व्यतित् भईसक्दा समेत प्रतिष्ठानको विकास र विस्तार, शिक्षक कर्मचारीको वृत्ति विकास, सेवा, सुविधाको व्यवस्था र प्रतिष्ठान सञ्चालनमा प्रभावकारीता ल्याउने सम्बन्धमा कुनै छलफल, अन्तरक्रिया र सहकार्य नगरेको अवस्थाले रचनात्मक कार्यका लागि भविष्यमा समेत हातेमालो गरेर हिंड्न सक्ने सम्भावना  देखिएन ।

साथै गत मिति २०७३।११।२५ मा समाजले बुझाएको ज्ञापन–पत्रको पुर्णतः अवज्ञा भएको कुराले समेत यसलाई पुष्टि गरेको हुंदा समाजले अत्यन्तै गम्भिरतापूर्वक लिएको समेत अनुरोध   गर्दछौं ।अतः आजको मितिले पांच(५) दिनभित्र ज्ञापन–पत्रमा प्रस्तुत गरिएको मागहरु पूर्ण रुपले संवोधन नभएमा समाज अप्रिय कदम चाल्न बाध्य हुने व्यहोरा अनुरोध गरिन्छ ।

उक्त कदमवाट हुने क्षतिको जिम्मेवारी उपकुलपति स्वयंले लिनुपर्ने व्यहोरा समेत अनुरोध छ ।१.MRI खरिद विषयमा रु. ६ करोड भन्दा बढी मूल्यमा खरिद गर्न लागिएको भनि सञ्चार माध्यमहरुमा प्रकाशित भईरहेको सन्दर्भमा सत्य तथ्य के हो? विगतमा MRI  खरीदको प्रकृया भई रद्द गरिएको टेण्डर सम्बन्धि कागजातहरु र हालै विवादस्पद देखिएको MRI । खरिद सम्बन्धि टेण्डरको कागजातहरु समाजले गठन गरेको निम्न तीन(३) सदस्यीय छानवीन समितिलाई उपलब्ध गराउनु पर्ने ।

१.श्री श्याम लम्साल, पूर्व रजिष्ट्रार(कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान) तथा एसोसिएट प्रोफेसर(नर्सिङ), वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान  – संयोजक

२.श्री दिनेश राज दाहाल, मेनेजर (योजना, अनुगमन तथा मूल्यांकन महाशाखा), वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान – सदस्य३.श्री कमल कुमार रायमाझी, सुपरभाइजर (लेखा), वी.पी. कोइरालास्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान – सदस्य सचिव

२.गत आ.व. २०७३/०७४ मा प्रतिष्ठानमा क्यान्सर र मुटु रोग सम्बन्धि अस्पताल भवन निर्माण गर्न भनि प्रतिष्ठानले खरिद प्रकृया समेत शुरु गरी सोको शिलबन्दी खोल्ने अन्तिम समयको २ घण्टा अगाडि मात्र के कति कारणले टेण्डर रद्द गरियो ? उक्त निर्माण कार्यका लागि नियुक्त परामर्शदातालाई के कति कारणले र कस्तो नियतले लगभग ७ करोड गत आ.व. मै हतारमा भुक्तानी दिइयो ? साथै प्रतिष्ठानकै हाताभित्र निर्माणाधीन MRI भवनको सोही परामर्शदातालाई लागतको करिव १.४ प्रतिशतमा ठेक्का दिइएको नजिर हुंदाहुंदै क्यान्सर र मुटु रोग सम्बन्धि भवनको परामर्शको निमित्त ३.६ प्रतिशतमा ठेक्का दिई के कति कारणले प्रतिष्ठानलाई थप करोडौं व्यय भारमा पारियो? यस सम्बन्धमा समाजलाई स्पष्ट पार्नुपर्ने ।

साथै ४०० शैया क्षमताको क्यान्सर र मुटु रोग उपचार केन्द्रको टेण्डर रद्द गरी सोको बजेटबाट MRI खरिद गर्नुको अभिप्राय के हो? साथै मेशिन उपकरण शिर्षकमा नेपाल सरकारले बिगत देखि नै माग गरे अनुसार पर्याप्त बजेट रकम दिदै आएको र आर्थिक बर्ष ०७२।०७३ सम्म प्रतिष्ठानको आन्तरिक श्रोत प्रयोग गरी मेशिन उपकरण खरिद गरिएको अवस्था नहुदा नहुदै यस पटक प्रतिष्ठानको करिब रु. ७ करोड रकम प्रयोग गरी मेशिन उपकरण खरिद गर्नु पर्ने बाध्यता किन र कसरी सृजना हुन पुग्यो तथ्य प्रमाण सहित समाजलाई जानकारी गराउनुपर्ने ।

३. उच्चस्तरीय तलबमान आयोगले सिफारिस गरे अनुरुप प्रतिष्ठानका शिक्षक तथा कर्मचारीहरुको तलब  तथा भत्ता चालु आ.व. को श्रावण महिना देखि नै स्वतः बृद्धि हुनु पर्नेमा बृद्धि गरी किन बितरण गरिएन ? उच्च स्तरिय तलवमान आयोगको सिफारिस बमोजिम स्वतः बृद्धि भई शिक्षक/कर्मचारीले पाउन बांकी रहेको आर्थिक बर्ष ०७२।०७३ को महगीं भत्ता हाल सम्म उपलब्ध नभएकोले दुवै रकम तुरुन्त उपलब्ध गराउनु पर्ने ।

साथै शिक्षक/कर्मचारीहरुको तलब भत्ता बृद्धि हुदां नेपाल राष्ट्र बैंकको मूल्य बृद्धि दर अनुसार हुनु पर्नेमा मूल्य बृद्धि दरको आधा प्रतिशतमात्र बृद्धि हुने प्रावधानले शिक्षक/कर्मचारीहरुको तलब सुबिधामा अत्यन्त न्यून अनुपातमा मात्र बृद्धि भएकोले अन्याय भएको हुदां नेपाल राष्ट्र बैंकको मूल्य बृद्धि दर अनुसार तलब भत्ता बृद्धि गर्ने नयां व्यवस्था कायम गरिनुपर्ने वा नेपाल सरकारले बृद्धि गरे अनुसार प्रतिष्ठानमा समेत बृद्धि गर्ने व्यवस्था कायम हुनुपर्ने ।

४.प्रतिष्ठानमा सेवारत दैनिक ज्यालादारी कर्मचारीलाई करार नियुक्ति दिनुपर्ने, करार कर्मचारीलाई परफरमेन्स करार दिनुपर्ने, परफरमेन्स करारलाई स्थायी गर्नुपर्ने तथा नर्सिङ, प्रशासनिक तथा पारामेडिक्स कर्मचारीको आवश्यक परेमा थप दरवन्दी समेत सिर्जना गरी सबै तहको नियमित आन्तरिक बढुवाको विज्ञापन गर्नुपर्ने तथा प्रतिष्ठानले निर्णय गरी Sr. Technical Asst.(ANM) हरुलाई Sr. ANM बनाउन आवश्यक Curriculum बनाई अध्ययन तथा तालिम समेत गराइसकेको हुंदा निजहरुलाई बढुवा गर्नुपर्ने र आन्तरिक बढुवाका हकमा विगतमा भएको प्रकृया सम्बन्धि वैकल्पिक उम्मेदवारवाट पदपूर्ति गर्ने प्रतिष्ठानको कार्यकारीणी समितिको निर्णय लागू गर्नुपर्ने । परफरमेन्स तथा फायल मूल्यांकनको आधारमा बढुवा गर्ने व्यवस्था लागु हुनुपर्ने ।

५.प्रतिष्ठानको इमरजेन्सी, आई.सि.यू. डायलाइसीस, रेडियोलोजी, प्रयोगशाला लगायतका सेवाहरुलाई चुस्तदुरुस्त राखी क्षमतावृद्धिको सुरुवात गर्नुपर्ने तथा सर्वसाधारणको उपचार जबरजस्ती पेइङ सेवावाटै गराउने वातावरणको अन्त्य गर्नुपर्ने । साथै पेइङ सेवामा संलग्न कर्मचारीहरुले पाउंदै आएको सुविधा एकाएक उपलब्ध नगराएकाले उक्त सुविधा तत्काल उपलब्ध गराउनुपर्ने ।

६.डिएम/एमसिएच गरेका तथा अन्य विशेषज्ञहरुलाई प्रतिष्ठानमा स–सम्मान काम गर्ने नीति तय गरी लागु गर्नुपर्ने । विशेषज्ञ ल्याई न्यूरो सर्जरी सेवा तत्काल सुचारु गर्नुपर्ने ।

७.सम्बन्धित क्षेत्रमा विज्ञता हासिल नगरेका सल्लाहकारहरुको जथाभावी नियुक्तिले प्रतिष्ठानलाई थप आर्थिक व्ययभार मात्र पर्न गएको हुंदा औचित्य पुष्टि नहुने तथा प्रतिष्ठानलाई आवश्यक नपर्ने यस्ता नियुक्तिहरुलाई  तत्काल रद्द गर्नुपर्ने ।

८.प्रतिष्ठानको खानेपानी सप्लाई अन्तर्गत सेउती खोलाको पुल स्थलमा प्रतिष्ठानले विगत वर्षहरुमा गरेको मर्मत संभार खर्च र उपलब्धी सार्वजनिक गर्नुपर्ने तथा यस वर्षको मर्मत योजना तथा दीर्घकालीन समस्या समाधानको योजना सार्वजनिक गर्नुपर्ने ।

९.प्रतिष्ठानको हातामा सञ्चालित Kid-G लगायत व्यापारिक प्रयोजनको निमित्त सञ्चालित सम्पूर्णको टेण्डर प्रकृया तथा आम्दानी विवरण सार्वजनिक गर्नुपर्ने र नियम विपरित ठेक्का लगाइएका हकमा ठेक्का रद्द गर्नुपर्ने तथा पुनः ठेक्का प्रकृयामा नगई समय बढाइएका हकमा पुनः ठेक्का आव्हान गर्नुपर्ने ।

१०.गत आ.व. २०७३/०७४ को प्रतिष्ठानको आन्तरिक आयको खर्च विवरण सार्वजनिक गर्नुपर्ने र चालु आ.व.२०७४/०७५ को सो सम्बन्धि योजना सार्वजनिक गर्नुपर्ने ।

११.शिक्षक कर्मचारीहरुको नेपाल सरकारले उपलब्ध गराए बमोजिम एप्रोन तथा पोशाक भत्ता वृद्धि गरी चालु आर्थिक वर्ष देखि उपलब्ध गराउनुपर्ने । साथै जोखिमपूर्ण स्थानहरुमा कार्य गर्ने सबै कर्मचारीहरुलाई जोखिम भत्ता र Night Duty गर्ने कर्मचारीहरुलाई Night Allow. को व्यवस्था गर्नुपर्ने ।

१२.शिक्षक कर्मचारीहरुवाट भवन मर्मत शूल्क वापत हालसम्म संकलित रकम के कसरी प्रयोगमा ल्याइएको छ? वृटिशको समयमा बनेका आवासीय भवनहरु चुहिएर बस्न नसक्ने अवस्था भएकोले तत्काल दिगो मर्मत संभार गर्नुपर्ने ।

साथै G1, G2 Type भवनहरुमा खानेपानीको अभाव, ढल फुटेका, झ्याल ढोका भत्केको, जाली, चुकुल, ग्रिल नभएको जस्ता समस्याहरुको तत्काल समाधान गर्नुपर्ने ।

१३.जुनियर फोरमेन र सिनियर फोरमेनलाई सहायक स्तर सरहको दैनिक भ्रमण भत्ता तथा अन्य भत्ता सुविधा दिंदै आएकोमा हेल्पर तह २, ३ र ४ मा पदनाम परिवर्तन गरिसकेपछि खाईपाई आएको सो सुविधावाट वञ्चित भएकोले सहायक स्तर सरह भत्ता सुविधा पुनः उपलब्ध गराउने व्यवस्था गर्नुपर्ने ।

१४.अस्पताल निर्देशकको नियुक्ति नियम संगत हो होइन? हो भने किन हालसम्म निजको नियुक्ति पत्र प्रतिष्ठानको सम्बन्धित शाखाहरुमा उपलब्ध गराइएन? यसबारे जानकारी गराउनुपर्ने ।

१५.प्रतिष्ठानको सुरक्षा व्यवस्था र सरसफाईलाई अझ प्रभावकारी बनाउनुपर्ने ।

१६.नेपाल विद्युत प्राधिकरणले निर्धारण गरेबमोजिम नै विद्युत महशुल लागु  गर्नुपर्ने ।