उर्जा

ऊर्जा मन्त्री शाही नेतृत्वमा कर्णालीमा ऊर्जा सम्भाव्यताको अध्ययन

जुम्ला । ऊर्जामन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको टोलीले आइतबार कर्णाली क्षेत्रसहित जाजरकोट जिल्लाको ऊर्जा सम्भाव्यता अध्ययन गरेको छ । ऊर्जाको सम्भाव्यता बोकेको कर्णाली क्षेत्रको जलविद्युतको सम्भाव्यता अध्ययन, राष्ट्रिय प्रसारण लाइन जोड्न सकिने अवस्था र कर्णाली करिडोरको अनुगमनका क्रममा टोली जुम्ला आइपुगेको हो ।

हवाई मार्ग भएर अपरान्ह ३:३० बजे जुम्ला आइपुग्नुभएका ऊर्जामन्त्री शाहीले जुम्लाका स्थानीय तहका प्रमुखसहित उच्च अधिकारीसँग कर्णाली अन्चलको मुख्य कर्णाली नदी, मुगुको राराताल, जुम्लाको तिला र हिमानदीको सम्भाव्यता अध्ययन गरेको बताए ।

उनले मुख्य नदी कर्णाली र यसका सहायक नदीमा कतिवटा जलविद्युत आयोजना संचालन गर्न सकिन्छ भन्ने कुराको अध्ययन गरिएको जनाए । “आज गरेको कर्णाली क्षेत्रको ऊर्जाको अध्ययन तथा अनुगमनका विषयमा काठमाडौँ फर्केपछि छलफल गर्छौं, त्यसपछि मात्र कुन नदीको सम्भाव्यता अध्ययन गर्ने हो भन्ने कुराको यकिन गर्छौं,” मन्त्री शाहीले भने । उनले राष्ट्रिय प्रसारण लाइन दैलेख भएर आएको र त्यसको सब–स्टेशन कालीकोटको चिल्खायामा राखेर जुम्ला जोड्ने वचन दिए ।

त्यसैगरी, उनले अहिले सरकारको मुख्य काम दुई तहको निर्वाचन सम्पन्न गराउने रहेको बताएका छन्. । मन्त्री शाहीले कर्णालीको समग्र विकासका लागि अर्काको भरमा नपर्न कर्णालीवासीलाई अपिल गरे । त्यसका साथै विकासका लागि जनप्रतिनिधि स्वयंले घन सब्बल समातेर काम गर्न सुझाए ।

एक फरक प्रसङ्गमा ऊर्जामन्त्री शाहीले कर्णालीको विकास र समृद्धिको सवालमा एनजिओरआइएनजिओले यहाँका नागरिकको बानी बिगारेको आरोप लगाए । उनले मुख्यतः हाइड्रोपावरको प्रचुर सम्भाव्यता बोकेको कर्णालीले अब हरेक कुरा आयात गर्ने मात्र नभई विद्युत् निर्यात गरेर देशलाई सहयोग पुर्याउने तर्क गरे ।

टोलीले आजै जाजरकोट जिल्लाको पनि जलस्रोतको सम्भाव्यता अध्ययन गरेको छ । ऊर्जामन्त्री शाहीसहित नेपाल विद्युत् प्राधिकरणका महानिर्देशक कुलमान घिसिङ, ऊर्जा मन्त्रालयका सचिव अनुपकुमार उपाध्याय, पूर्वसभासद् नरेश भण्डारीसहितको प्राविधिक टोलीले कर्णाली क्षेत्रको अनुगमन गरेको हो ।