समाचार

जापानमा १० औँ नेपाल फेष्टिवल शुरु, सानदार मेला लाग्ने

टोकियो । ‘अतिथि देवो भवः’ भन्ने मूल नाराका साथ गैरआवासीय नेपाली संघ (एनआरएनए) को आयोजनामा आजदेखि दुई दिवसीय १० औँ नेपाल फेष्टिवल (महोत्सव) शुरु भएको छ ।

एनआरएनए जापान, स्थानीय संघसंस्था र जापानस्थित नेपाली दूतावासको संयुक्त आयोजनामा शुरु भएको दुईदिने फेष्टिवलको जापानका लागि नेपाली राजदूत प्रतिभा राणा र संघका उपाध्यक्ष भवन भट्टले उद्घाटन गरे ।

स्थानीयस्तरमा उत्पादित वस्तुको प्रचारप्रसार गरी नेपालमा जापानी पर्यटक बढाउने उद्देश्यले टोकियोको उएनोपार्कमा १० औँ नेपाल फेष्टिवल शुरु भएको हो । महोत्सवमा मौलिक भाषा, कला, सांस्कृतिक पहिचान र स्थानीयस्तरमा उत्पादित वस्तुको प्रचारप्रसार गरी व्यावसायिक रुपमा पर्यटन प्रवद्र्धन गर्ने लक्ष्य रहेको आयोजकले जनाएका छन् ।

सानदार मेला अवलोकनका लागि आएका अधिकांश नेपाली खानाका परिकार, स्थानीयस्तरमा उत्पादित सामग्री र नेपाली कला संस्कृति झल्कने लोकभाकामा रमाएका छन् । फेष्टिवलमा राखिएका नेपाली घर, हतियार समाएका मठ मन्दिरका देवीदेवताका मूर्ति आकर्षक बनेका छन् ।

फेष्टिवलमा कला संस्कृति झल्कने, विभिन्न पर्यटकीयस्थलको जानकारी, नेपाल चिनाउने प्रदर्शनी, नेपाली खानाका परिकार र स्थानीय उत्पादनलगायत ४६ कक्ष रहेको आयोजक समितिका अध्यक्ष सुदन थापाले जानकारी दिए ।