राजनीति

राजपाले आज दल दर्ता गर्दै

काठमाण्डौ । संविधान संशोधनको मुद्दा सफल नभएपछि चुनाबमा होमने निर्णय गरेको राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले आज दल दर्ता गर्दैछ ।

पार्टीका अध्यक्ष मण्डलका नेताहरु विहान ११ बजे निर्वाचन आयोगको कार्यालयमा गएर प्रदेश र संघको निर्वाचनका लागि दल दर्ता गर्न लागेको सो पार्टीका नेता केशव झाले जानकारी दिएका छन् ।

असोज २ गते हुने स्थानीय तहको तेस्रो चरणको चुनाबी प्रचारमा राजपा जुटिसकेको छ । उसले आफ्नो चुनाबी अभियानलाई तिब्र बनाएको छ । उसले चुनावी घोषणापत्र तयारीका लागि ६ सदस्यीय मस्यौदा समिति पनि गठन गरेको छ । पाँच दिनभित्र सो समितिले चुनावी घोषणापत्र तयार गरेर अध्यक्ष मण्डलका नेतालाई बुझाउने तयारी भइरहेको नेता झाले बताए । राजपाले १४ गतेसम्म उम्मेदवारी चयन गरीसक्ने बताएको छ ।

हिजोदेखि नै स्थानीय तह निर्वाचनको प्रचार–प्रसारका लागि जिल्लास्थित पार्टीका प्रतिनिधिलाई खटाइसकिएको सो पार्टीले जनाएको छ ।
यसैबीच हिजै बिरगञ्ज नगरपालिकाको मेयरका टिकटको विषयमा विवाद हुँदा राजपाका कार्यकर्ताबीच झडपसमेत भएको थियो ।