राजनीति

यस्तो छ भारतीय प्रधानमन्त्री मोदी र नेपालका चार प्रधानमन्त्रीहरुसँग जोडिएको एउटा रमाइलो ‘राजनीतिक घटना !’

काठमाण्डौ । नेपालमा सरकार परिवर्तन भएलगत्तै उक्त सरकारको नेतृत्व गर्ने प्रधानमन्त्रीले लगत्तै छिमेकी मुलुकहरुको भ्रमण गर्ने चलन छ । नेपालमा नयाँ प्रधानमन्त्रीहरु आउने वित्तिक्कै छिमेकी मध्येमा पनि भारत भ्रमणमा जाने निकै वर्ष अघिदेखिको परम्परा हो ।

त्यसैले नेपालका प्रधानमन्त्रीहरुले सुरुमा भारत भ्रमण गर्ने गरेका छन् । यो परम्पराबारे आलोचना हुँदै आएपनि नेपालले त्यसलाई निरन्तरता दिँदै आएको छ । यसलाई सामान्य ढंगले हेरिने गरिएको छ तर नेपालका प्रधानमन्त्रीहरुले भारत वा चीन जुन छिमेकीको भ्रमण गरेपनि पछिल्लो समयमा नेपालमा भने एउटा आन्तारिक बहस निकै चर्को ढंगले चलिरहेको छ ।

त्यो हो, छिमेकी वा अन्र्ताष्ट्रिय मुलुकहरुमा एउटा सरकार बनेपछि निकै लामो समयसम्म चल्ने र मुलुकको स्थायित्व र विकासको गतिले तिव्रता पाएको देखिन्छ भने नेपालमा ६–६ महिनामा सरकार परिवर्तन गर्ने परिपार्टीले छिमेक र विदेशी मुलुकका अघि समेत लाजले शीर निहुराउनुपर्ने अवस्था छ ।

त्यसर्थ, पाठकबृन्द्ध, यही प्रसंगलाई जोडेर हामीले छिमेकी मुलुक भारत र नेपालसँग जोडिएको एउटा निकै रोमाञ्चकारी राजनीतिक घटनाक्रमलाई यहाँ प्रस्तुत गरेका छौ । वास्तवमा यो राजनीतिक घटनाक्रममा हामीले छिमेकी मुलुक भारत र नेपालको सत्ता परिवर्तनलाई मुल्याँकन समेत गरेका छौ । भारतमा यसबेला त्यहाँको सरकार प्रमुख नरेन्द्र मोदी रहेका छन् । नरेन्द्र मोदी त्यहाँको निकै प्रभावशाली र विकसित प्रान्त गुँजरातमा ४ कार्यकाल मुख्यमन्त्री भई सन् २०१४ मा भारतीय प्रधानमन्त्री भएका राजनीतिज्ञ हुन् ।

सम्भवत, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी त्यस्ता प्रधानमन्त्री भइरहेका छन्, जसले आफ्नो एक कार्यकालमै नेपालका करिब आधा दर्जन प्रधानमन्त्रीहरुलाई स्वागत गर्न भ्याएका छन् । यो एउटा दक्षिण एसियामा देखिएको निकै रोमाञ्चकारी राजनीतिक घटनाक्रम हो ।

सन् २०१४ मा अर्थात वि.सं.२०७० सालको बीच समयमा नेपालमा दोश्रो संविधानसभा निर्वाचन भैरहेको थियो । त्यहीबेला भारतमा नरेन्द्र मोदी प्रधानमन्त्री भइसकेका थिए । त्यसपछि नेपालमा नयाँ संविधान जारी भयो भारतले त्यसमा असहमति जनायो ।

त्यसबेला नेपालका तत्कालीन प्रधानमन्त्री सुशील कोइराला थिए । नेपालमा नयाँ संविधान जारी हुनुअघि नै प्रधानमन्त्री सुशील कोइरालाले भारत भ्रमण गरेकोले नयाँ संविधानको विषयलाई लिएर त्यति धेरै टक्करको सामना गर्नुपरेन ।

कोइरालालाई भारत भ्रमणको क्रममा पहिलोपटक भारतीय प्रधानमन्त्री मोदीले स्वागत गरेका थिए । भारतीय प्रधानमन्त्रीमा आएपछि मोदीले नेपालका प्रधानमन्त्रीलाई गरेको यो पहिलो स्वागत पनि थियो ।

नयाँ संविधान जारी भएलगत्तै कोइरालाको ठाउँमा एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री भए । त्यो समयमा नेपाल र भारतबीच निकै ठूलो उत्तारचढावपूर्ण सम्बन्ध रह्यो । जुन अहिलेसम्म पनि सुमधुर हुने चरणमा विस्तारै अघि बढिरहेको छ । त्यसबेला तत्कालीन प्रधानमन्त्री केपी ओलीले भारतको निकै कडा आलोचना गरेका थिए, किनभने नयाँ संविधानमा असहमति जनाइरहेको भारतले नेपालविरुद्ध नाकाबन्दी समेत लगाएको थियो ।

त्यही तनावका बीच प्रधानमन्त्री ओलीले भारत भ्रमण गरेका थिए । उनलाई समकक्षी मोदीले स्वागत गरेका थिए । त्यसलगत्तै नेपालमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भए । प्रधानमन्त्री दाहाललाई पनि मोदीले स्वागत गरे भने अहिले प्रधानमन्त्री शेरबहादुर देउवलाई पनि उनै मोदीले राजकीय सम्मानसहित स्वागत गरेका छन् ।

यसरी भारतका एकजना प्रधानमन्त्रीले केही वर्षको अन्तरालमै नेपालका चारजना प्रधानमन्त्रीलाई स्वागत गरेका छन् । भारतमा अझै केही समय प्रधानमन्त्री मोदीको कार्यकाल बाँकी छ र त्यसपछि पनि उनै मोदी प्रधानमन्त्री हुने सम्भावना समेत देखिदैछ ।

मोदीको बाँकी रहेको कार्यकालभित्र नेपालमा अर्को प्रधानमन्त्री बन्यो भने त्यो आश्चर्यको विषय नहुन सक्छ । उनले नेपालको पाँचवटा प्रधानमन्त्रीलाई स्वागत गरेको देखिनेछ । यदि मोदी अर्को कार्यकालका लागि पनि निर्वाचित भए भने त नेपालका दर्जनौ प्रधानमन्त्रीहरुलाई स्वागत गरेको एउटा ऐतिहासिक रेकर्ड नै राख्ने सम्भावना देखिदैछ ।

भारतीय प्रधानमन्त्री मोदीका लागि यो एउटा सौभाग्यको विषय भएपनि नेपालका लागि भने निकै लज्जाको विषयम हो, किनभने नेपालमा राजनीतिक अस्थिरताको यो एउटा चरम नमुना हो । सानो मुलुक वर्षदिन पनि नपुग्दै राज्यको ढुकुटी सकेर मन्त्रिपरिषद गठन गर्यो, फेरि त्यही घटनाक्रम दोहोर्यायो ।

उस्तै परे एकवर्षभित्रै दुईवटा प्रधानन्त्रीले भारत र चीनको भ्रमण गर्यो । उनीहरुको उपदेश सुन्यो, फक्र्यो । यसरी पछिल्लो समयमा नेपालमा देखिएको यो एउटा रोमाञ्चकारी राजनीतिक घटनाक्रमले नेपाललाई फाइदा होइन, दिनप्रतिदिन अधोगतितिर लैजान थालेको राजनीतिक संकेत देखिएको विश्लेषकहरु बताउन थालेका छन् ।